जनता टाइम्स

१८ आश्विन २०८०, बिहीबार १४:३०

३० वर्षपछि एमालेमै फर्किए शिवचन्द्र कुशवाह


काठमाडौं, १८ असोज । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका बाराका नेता शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश फर्किनु भएको छ । गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा २ मा उम्मेदवार बनेका कुशावाह राउतमा राजनीतिक चरित्र नदेखिएको भन्दै केही समयअघि स्वतन्त्र बन्नुभएको थियो ।

कुशवाह बिहीबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायतका नेताहरूले स्वागत गर्नुभएको थियो ।

कुशवाहले अहिलेको माओवादीले जनयुद्धकालमा ठूलो आकार लिनुमा तत्कालीन एमालेकै कार्यकर्ताको देन रहेको भन्दै अब ती पूर्वएमालेहरूलाई माओवादीबाट एमालेमै फर्काउन अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले आफू पनि जनयुद्ध अगाडि एमाले नै रहेकाले ३० वर्षपछि घर फर्किएको बताउनुभयो ।