जनता टाइम्स

२१ आश्विन २०८०, आईतवार १६:४५

प्रेम आलेको जिल्लामै रित्तियो नेकपा एस, एमालेमै फर्किए जिल्ला अध्यक्ष र प्रदेशसदस्यसहित सवै नेता–कार्यकर्ता


धनगढी, असोज २१ । नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता प्रेम आलेकै जिल्ला डोटीमा नै सो पार्टी रित्तिएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्षसहितका नेताहरु कम्युनिष्ट आन्दोलनबिरोधी रहेको प्रमाणित भएको भन्दै दीर्घराज बोगटीसहित प्रदेश कमिटीका सवै नेताहरु एमालेमै फर्कनु भएको हो ।

नेकपा एसका नेताहरु आज धनगढीमा आयोजित सुदुरशपश्चिम प्रदेशको प्रथम अधिवेशनको उदघाटन समारोहमा एमालेमा फर्कनु भयो । उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, सचिवद्वय छविलाल बिश्वकर्मा, लेखरमज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापासहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।

यसरी एमालेमै फर्कने नेकपा एकीकृत समाजवादीका नेताहरुमा सो पार्टीका प्रदेश कमिटी सदस्य देवबहादुर खडका, मानबहादुर बोगटी, मेघराज भट्ट हुनुहुन्छ । यस्तै जिल्ला कमिटीका अधिकांश नेताहरु एमाले फर्कनु भएको छ । डोटीका प्रभावशाली नेता सवै एमालेमा फर्किएसँगै सो पार्टी रित्तिन पुगेको हो ।

‘अव डोटीमा नेकपा एस भन्ने पार्टी रहन्न, सवै साथीहरु एमालेमै आउनु हुन्छ,’ प्रवेशपछि नेताहरुको भनाई थियो ।