काठमाडौं, असोज २४ । इजरायलको दक्षिणी गाजा क्षेत्र र लेवनानसँग जोडिएको उत्तरी क्षेत्रमा कृषि काममा २ सय ६५ जना विद्यार्थी थिए । जसमा हमास लडाकुको आक्रमणमा परी १० जना विद्यार्थी शनिबार मारिएका थिए । चार जना घाइतेको उपचार जारी छ भने एक जना बेपत्ता छन् । घरफिर्तीका लागि ३ सय ५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ । ‘हामी सेदोत नेगेभ (एग्रिकल्चर ट्रेनिङ सेन्टर) बाट सँगै ल्याएको कम्बोडिया र थाइल्यान्डका विद्यार्थीलाई सोमबार नै आफ्नो सरकारले उद्धार गरेर लगिसक्यो । हाम्रो सरकार भने चार दिन बैठक मात्रै बसिरहेको छ,’ सुदूरपश्चिम विश्वविद्यालयका लुइस रिजालले भन्नुभयो, ‘प्राथमिकता केलाई दिने भन्ने कुरा नै हाम्रो सरकारले छुट्याउन सकेको छैन ।’
विद्यार्थीहरूले ‘सिंहदरबारमा बस्ने बैठकले साथीहरूको मूल्य मात्रै तोकिरहेको’ बताउनुभयो। ‘कहिले आठ लाख भनेको छ । कहिले १० लाख भनेको छ । तर, हामी जुन तरिकाले शारीरिक र मानसिक तरिकाले गुज्रिरहेका छौं । त्यो निकै कठिन छ । दुई दिन अगाडिसम्म खान पाएका थिएनौं । अहिले खाना खान पाएका छौं । त्यो फरक कुरा हो,’ रिजालले भन्नुभयो , ‘दूतावासलाई फोन गर्दा कमर्सियल विमानहरू चलिरहेको छ भन्छ । यसका लागि पैसा चाहिने रहेछ । यो पैसाको जिम्मेवारी कसले लिने भन्ने कुरा छ । सरकारले सक्तैनौं भन्नुपर्यो । पैसा हामी आफैं हाल्छौं । पैसा हाल्न नसक्ने भए हामीलाई तुरुन्तै सूचना प्रदान गर्नुपर्यो ।’ नेपाली दूतावासले फार्म मालिक र इजरायली सुरक्षा संयन्त्रसँग समन्वय गरी दक्षिणी क्षेत्र सेदोत नेतिभोतबाट ५५ जना विद्यार्थीलाई रामेत नागेभ र उत्तरी क्षेत्रबाट ७२ जनालाई सीएफ ग्यालेली क्षेत्रमा ल्याएर राखिएको छ । इजरायलको उत्तरी क्षेत्र लेवनानको बोर्डर नजिक कार्यरत सय जना विद्यार्थीलाई सीएफ ग्यालेली क्षेत्रमा ल्याएको हो । उत्तरी क्षेत्र पनि असुरक्षित बन्दै गएको हो ।
विद्यार्थीहरू आफूहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअनुसार आफ्नो बसाइलाई निरन्तरता दिन नसक्ने भन्दै उद्धार चाहेको बताउनुभयो । इजरायलका कृषि मालिक र विश्वविद्यालयले भने अध्ययन र पढाइलाई निरन्तरता दिन आग्रह गर्दै आइरहेको छ ।
‘हामीलाई जहिले पनि मानसिक र भावनात्मक रूपमा बलियो हुनुपर्छ भनेर सबैले भनिरहेको छ । आफूले सकेसम्म शतप्रतिशत दिइसकेका छौं । पाँच दिन हुन लागिसक्यो । बमको आवाज गर्जेको गर्जै छ,’ चितवनकी विभूषा अधिकारीले भन्नुभयो , ‘हामीलाई बमको आतंक कम भएको ठाउँमा रिलोकेट गरेको मात्रै हो । हामी पूर्ण रूपमा सुरक्षित छैनौं ।’ विद्यार्थीहरू १६ अक्टोबरबाट इजरायलका उडानहरू कतै पनि बाहिर जान नदिने खबरले थप चिन्तित देखिएका छन् । ‘इजरायलले आफ्नै नागरिकलाई त बिदामा बाहिर जाऊ भनिरहेको छ । हामीलाई भने नेपाल सरकारले किन अहिलेसम्म लिन आइरहेको छैन ?’ उहाँले भन्नुभयो
धनगढीका कल्पना जोशीले आफूहरूलाई जसरी पनि नेपाल जान चाहेको बताउनुभयो । ‘हामीलाई खाना पाएका छौं ? बस्न पाएको छ भनेर सोध्न पर्दैन । हामीलाई यो ठाउँमा बस्नु नै छैन । हामीले साथीहरू गुमाइसक्यौं,’ उहाँले भन्नुभयो , ‘हामीलाई जसरी नै नेपाल फर्कनु छ । अब अरू साथीहरूलाई गुमाउनु छैन । जीवित भएको चाहनुहुन्छ भनेर तुरुन्तै उडान पठाइदिनु होला । हामी जीवितै घर जान चाहन्छौं ।’ तेलअविवस्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई नेपाल पठाउन विश्वविद्यालयसँग समन्वय गरिरहेको जनाएको छ । ‘जोखिम क्षेत्रमा रहेका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूलाई सुरक्षित स्थानमा ल्याउन सफल भयौं । उनीहरूलाई इजरायल ल्याउने विश्वविद्यालयसँग एक्जिटका लागि समन्वय भइरहेको छ,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले भन्नुभयो, ‘अहिले राखिएको ठाउँ सुरक्षाको हिसाबले उचित छ ।’
उहाँले नेपाल जान इच्छुक विद्यार्थी र कामदारसँग फाराम संकलन भइरहेको बताउनुभयो । ‘विश्वविद्यालयसँग विधिवत् रूपमा एक्जिट गर्ने विषयमा छलफल गरेको छ । अर्कोतर्फ विद्यार्थीहरूलाई सार्ने काम भइरहेको छ,’ उहाँले भन्नुभयो , ‘अब कसरी उडानमा पठाउने भन्ने विकल्पमाथि छलफल भइरहेको छ । बुधबारसम्म केही विषयमा स्पष्ट आइसक्छ ।’
उनीहरुलाई लिन इजरायलमा जहाज पठाउने तयारी भइरहेको भनिए पनि कहिले पठाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन ।स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने भन्ने विषयमा सरकार आफैँ अलमलमा छ । इजरायलमा रहेको नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रका १ सय २७ जना विद्यार्थीको उद्धार भइसकेको जनाएको छ ।
https://www.facebook.com/jantatimes/videos/1364982554374658













प्रतिक्रिया दिनुहोस्