जनकपुरधाम,२४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रचण्ड नेतृत्वको सरकार काम नलाग्ने भएको बताउनु भएको छ । मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आइपुग्नु भएका अध्यक्ष ओलीले यो सरकार पूर्णरूपमा असफल भईसकेको बताउनु भएको हो ।
काठमाडौंबाट विमानमा जनकपुरधाम ओर्लनु भएकान अध्यक्ष ओलीलाई नेता तथा कार्यकर्ताहरू स्वागत गर्नुभएको थियो । उहाँको स्वागतका लागि पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता विमानस्थल पुग्नु भएको थियो ।
अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्णरूपमा असफल भइसकेको बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्ँनुभयो, ‘कहिले ढल्छ त्यो नभनौं । तर, यो सरकारको काम छैन ।’
नयाँ सरकार बनाउन नेपाली कांग्रेससँग छलफलमा हुनुहुन्छ ? भन्ने जिज्ञासामा अध्यक्ष ओलीले राजनीतिमा कुनै पनि दलसँग छलफल र संवाद सामान्य विषय भएको बताउनुभयो ।
अध्यक्ष ओलीले जनकपुरधामस्थित पार्टी कार्यालयको नयाँ भवनको उद्घाटनसमेत गर्नुहुनेछ । त्यसपछि उहाँले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।
अधिवेशनबाट एमाले मधेश प्रदेशले नयाँ नेतृत्व पाउनेछ ।













प्रतिक्रिया दिनुहोस्