जनता टाइम्स

२५ आश्विन २०८०, बिहीबार १३:२९

अर्थतन्त्र गम्भीर अवस्थामा रहेको प्रधानमन्त्री प्रचण्डको स्विकारोत्ति


काठमाडौं, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको लागि बोल्न डिसिजन लिन आवश्यक भएको बताउनुभएको छ । राष्ट्रिय आर्थिक बहस ‘सुधारका लागि सहकार्य’ कार्यक्रमलाई सम्बोधन गर्दै अहिले पनि अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अर्थतन्त्र पक्कै पनि गम्भीर अवस्थामा छ । अलिकति बोल्ड डिसिजन लिनेतिर अगाडि नबढ्ने हो भने हामी झन् अप्ठ्यारो परिस्थितितिर जान सक्ने खतरा छ । यसका आन्तरिक आयाम छन् । यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम पनि छन् । तर, निर्णायक चाहिँ हामी आफैँ हो ।’

उहाँले अब राजनीतिक दल, अर्थशास्त्री र व्यवसायीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो,‘अब नेपाललाई कता र कसरी लैजाने भन्ने कुरामा नेपालको राजनीतिक दलहरूले, अर्थशास्त्री र व्यवसायीहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । आजको दुनियाँमा बाह्य कारण पक्कै हुन्छ । निर्णायक हामी आफैँ हो ।’