जनता टाइम्स

२६ आश्विन २०८०, शुक्रबार १३:०१

मेचीकाली अभियानलाई सशक्त बनाउँदै कलाकार


काठमाडौं, २६ असोज । नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको मेची–महाकाली अभियानमा स्थानीय जनतालाई आकर्षित गर्दै शीर्ष नेताहरूलाई कम्मर भाँची भाँची नचाउन जनसांस्कृतिक महासङ्घका कलाकार सफल भएका छन् । जनसांस्कृतिक महासङ्घका महासचिव ऋषि अधिकारीले मुलुकको राष्ट्रियता, विविधतामा एकता, सुशासन र समृद्धि प्रवर्धन गर्ने सन्देशमूलक गीत प्रस्तुत गरेर युवालाई समाजवादी क्रान्तिका लागि प्रेरित गरेको बताउनुभयो ।

अभियानले जनतालाई समाजवादी कार्यदिशाप्रति चेतना फैलाउने बताउँदै महासचिव अधिकारीले भन्नुभयो,‘हामी जनताको घरदैलोमा पुगेका छौँ र उनीहरूको दुःखसुखमा साथ दिएका छौँ । सुशासन, विकास र रोजगारी हाम्रो माग हो ।’ यही असोज १४ देखि मेची पुलबाट सुरु भएको समाजवाद जागरण अभियानले कृषि उत्पादनबाट आत्मनिर्भर अर्थतन्त्रको विकास गरी देशमै शिक्षा, देशमै रोजगारी, समाजवादको कार्यान्वयनमा सहयोग पुर्याउने सन्देश दिएको छ ।

‘कालाबजारी बन्द गरी महँगी नियन्त्रण गर्नुपर्ने, सन् १९५० को असमान सन्धि खारेज गर्नुपर्ने, समृद्धिका लागि एकीकृत समाजवादी, जनताको साथ देशको विकास, सीमानाको नियमन गरी वर्क पर्मिट लागू गर्नुपर्ने, सबै खेतीयोग्य जमीनमा सिँचाइको व्यवस्था गर्नुपर्ने, नेपालको खनिज पदार्थको दोहन बन्द गर्नुपर्ने’, नाराका साथ अभियान सञ्चालन गरेको छ ।

करिब नौ सय किलोमिटर यात्रा तय गरिएको अभियान प्रभावकारी तथा व्यवस्थित बनाउन पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा दुई हजार एक सदस्यीय ‘समाजवाद जागरण यात्रा’ मूल व्यवस्थापन समिति गठन गरिएको छ । यही असोज २९ गते सुर्खेतमा पुगेर सम्पन्न हुने अभियान अहिले धनगढीमा पुगेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा राजनीतिक, सांस्कृतिक तथा कार्यकर्ता भेला, अन्तरक्रिया सम्पन्न गरिसकेको अभियानले आमसभा गरेको छ ।

पार्टीका महासचिव घनश्याम भुसालका अनुसार आधुनिक कृषि र रोजगारी, समृद्धिको तयारीलाई मुख्य विषय बनाइएको अभियानमा शिक्षा, स्वास्थ्य र रोजगारीलगायत विषय जनताको मौलिक अधिकारका रुपमा स्थापित गर्न, जनशक्तिको निर्यात बन्द गरी सबैलाई रोजगारीको प्रत्याभूति गर्ने पार्टीको लक्ष्यबारे जनतालाई जानकारी दिइएको छ ।

सरकारले कृषि क्षेत्रमा हस्तक्षेप गर्नुपर्नेमा जोड दिँदै महासचिव भुसालले भन्नुभयो,‘सरकारले यस क्षेत्रमा २० अर्ब लगानी वृद्धि गरी किसानलाई मल, बीउ, पानी र औजार किसानको उत्पादन खरिद, कृषि बचत सुनिश्चित गर्न सकिन्छ ।’ पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय, सबै प्रदेशका सचिवालय सदस्य, जिल्लाका पदाधिकारी, प्रदेश इन्चार्जको अध्यक्षतामा सम्बन्धित प्रदेश कमिटी, जिल्ला कमिटी सदस्य, प्रदेशस्तरीय आयोजक कमिटीलाई समितिमा समावेश गरिएको छ ।

मूल आयोजक कमिटी र प्रदेश आयोजक कमिटीले मूल व्यवस्थापन समितिसँग समन्वय गरी अभियानलाई व्यवस्थित बनाउनेछन् । चुरे महाभारतको संरक्षण, पर्यावरणको प्रवरद्धन, मधेसमा उत्पादन वृद्धि, बैंकको ब्याजदर घटाएर उद्योग व्यवसाय चलायमान बनाउन आवश्यक नीति तर्जुमा गर्दा अभियानबाट प्राप्त जनताको सुझावलाई समेटिने पार्टीले जनाएको छ ।

जनताका समस्या समाधानका लागि पार्टीका वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण आधारभूत तहसम्म स्थापित गर्न थालिएको अभियानअन्तर्गत कांकडभिट्टा, विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराजमा, चिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दीबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, हेटौँडा, चितवन, कावासोती, बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, कोहलपुर, नेपालगञ्जलगायत स्थानमा जागरण कार्यक्रम सम्पन्न भएका छन् ।