जनता टाइम्स

२९ आश्विन २०८०, सोमबार २१:४६

एपोनका निवर्तमान अध्यक्ष पाण्डे रुवाण्डाका महाबाणिज्य दुतमा नियुक्त


काठमाडौं, २९ असोज । नेपाल औषधि उत्पादक संघ (एपोन) का निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डे नेपालका लागि रुवाण्डाका महाबाणिज्य दूतमा नियुक्त हुनुभएको छ ।

परराष्ट्र मन्त्री एनपी साउदले सोमबार पाण्डेलाई रूवाण्डाको महावाणिज्यदुतमा नियुक्त गर्नुभएको हो ।

उहाँ नेपाल फार्मेसी परिषद्का अध्यक्ष समेत हुन् । पाण्डे नेपालकै अग्रणी औषधि उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्सका कार्यकारी निर्देशक समेत हुनुहुन्छ ।

महाबाणिज्यदुतमा पाण्डेको नियुक्तिसँगै द्विपक्षीय सहायता तथा सहयोगमा नेपालले रुवाणडामा काम गर्ने भएको छ । नवनियुक्त वाणिज्यदूत पाण्डेले व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा द्विपक्षीय रूपमा विशेष सुविधाको उपयोग गर्न पाईने जानकारी दिनुभयो ।

कार्यक्रममा परराष्ट्र मन्त्री साउदले पाण्डेको नियुक्तिसँगै नेपाल र रुवान्डा बीच दुई देशीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास सरकारले लिएको बताउनुभयो ।

पाण्डेले आगामी दिनमा रूवाण्डा र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दैै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताउनुभयो । ‘रूवाण्डाले भर्खरै मात्र नेपालमा आफ्नो वाणिज्यदूत नियुक्त गरेको छ,’ नवनियुक्त वाणिज्यदूत पाण्डेले भन्नुभयो, ‘यसले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ ।’