काठमाडौं, ९ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गर्ने तथा चरित्रहत्याको खेती गर्नेमाथि कानूनबमोजिम कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उपाध्यक्ष पौडेलले एमाले अध्यक्ष ओलीविरुद्ध भ्रमपूर्ण प्रचार गर्ने अपराधकर्ममा संलग्नहरुलाई दण्डित नगरे सरकारको नियतमाथि प्रश्न उठ्नेसमेत बताउनुभएको छ । पछिल्लो समय बैंकको ऋण नतिर्ने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेकोलगायतका आरोप लगाउनुभएको छ । ओली नेतृत्वमा नेपालले चुच्चे नक्सा जारी गरेपछि भारतीय मिडियाले ३ वर्षअघि प्रसारण गरेको फेक रिपोर्टलाई उद्धृत गर्दै प्रसाईंले ओलीमाथि आरोप लगाएका भिडिओहरु भाइरल छन् ।
एमालेले प्रसाईंको भ्रमपूर्ण अभिव्यक्तिलाई आपराधिक कार्य भन्दै कानूनबमोजिम कारबाहीको लागि सरकारको ध्यानाकर्षण गराएको छ । ओलीले गणतन्त्र र धर्मनिरपेक्षको विकल्पमा अहिले कोही जान नसक्ने भन्दै राजतन्त्र फर्किन सम्भव नरहेको अभिव्यक्ति दिएपछि राजावादीहरुले नियोजित आक्रमण थालेको एमालेको दाबी छ ।
उपाध्यक्ष पौडेलले एमालेलाई कमजोर पार्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विगतमा पार्टीभित्रैका अवसरवादी र स्वार्थी तत्वहरुलाई प्रयोग गरेर विभाजनको प्रयास गरेकोसमेत बताउनुभएको छ । सबै प्रकारका षड्यन्त्रहरु असफल भएपछि पार्टीको मुख्य नेतृत्वमाथि प्रहार केन्द्रित गरिएकोसमेत उहाँले बताउनुभयो ।
पौडेलले भन्नुभयो, ‘विगतमा पनि कहिले हामीभित्रैका स्वार्थी र अवसरवादी तत्वहरुलाई प्रयोग गरेर विभाजनको प्रयास गरिए । कहिले राज्यशक्ति र सत्ताको दुरुपयोग गरेर एमालेविरुद्ध प्रहार भए । कहिले हाम्रा नेताहरुको चरित्रहत्या गर्न प्रायोजित र झूट प्रचार गरे । यही सिलसिलामा अहिले हाम्रो अध्यक्षका विरुद्ध जुन प्रकारको लाञ्छनायुक्त भ्रामक प्रचार गर्दैछन्, तिनीहरुलाई कारबाही गरिएन भने एमालेले प्रतिवाद गर्नेछ ।’
उपाध्यक्ष पौडेलले केपी ओलीको नेतृत्वमा एमाले अझ बढी एकताबद्ध र बलियो बनेर अघि बढेपछि मूल नेतृत्वमाथि प्रहार गर्न योजनाबद्ध र संगठित प्रयास भइरहेको समेत बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्