जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार ०८:५३

विश्व मञ्चमा नेपालको निरीह कूटनीति


काठमाडौं, १६ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भएको चुनावमा नेपालले लज्जास्पद हार बेहोरेको छ । भारतको नयाँ दिल्लीमा बुधबार अपराह्न भएको चुनावमा नेपालका तर्फबाट उम्मेदवार रहेका शम्भुप्रसाद आचार्यले खसेको १० मतमा २ मात्र पाउनुभयो । उनका प्रतिस्पर्धी बंगलादेशका उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद ८ मत प्राप्त गरी विजयी हुनुभयो ।

गोप्य मतदानमा यस क्षेत्रका स्वास्थ्यमन्त्रीहरूले भाग लिनुभएको थियो । डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे सदस्य छन् । मतदानमा सैनिक शासन भएको देश म्यान्मारबाहेक १० सदस्य राष्ट्र सहभागी भए ।

प्रतिस्पर्धात्मक क्षमता राखेका आचार्यको हारले क्षेत्रीय स्तरमा नेपालको कूटनीतिक क्षमता अत्यन्त कमजोर र निरीह देखिएको छ । ‘यो मत परिणामले यस क्षेत्रमा कूटनीतिक हिसाबले नेपाल अत्यन्त कमजोर र निरीह देखिएको छ,’ डब्लुएचओ क्षेत्रीय कार्यालयमा कार्यरत एक नेपाली अधिकारीले भन्नुभयो । नेपालले यसअघि आफ्नो पक्षमा रहेका भारत र थाइल्याण्ड जस्ता सहयोगी देश पनि गुमाएको ती अधिकारीले बताउनुभयो ।

एसिया क्षेत्रीय निर्देशक पदका लागि आचार्यको अनुभव र दक्षताअगाडि बाजेद कमजोर हुनुहुन्थ्यो तर बंगलादेशको बलियो कूटनीतिक लबिङका कारण उहाँले सफलता हात पार्नुभयो । अटिजम रोगको उपचारका लागि पैरबी गर्दै आएकी बाजेद डब्लुएचओको मानसिक स्वास्थ्य विषयको सल्लाहकार समूहकी सदस्य हुनुहुन्थ्यो । उहाँले फेब्रुअरी १ तारिखदेखि ५ वर्षे कार्यभार सम्हाल्नु हुनेछ । यो समाचार नागरिक दैनिकमा छ ।