जनता टाइम्स

१८ कार्तिक २०८०, शनिबार ०९:०४

अब तिहारमा चिनी सहज हुने


काठमाडौं, १८ कात्तिक । काठमाडौँ, कात्तिक १८ गते । नजिकिँदै गरेको तिहारमा चिनी सहज हुने भएको छ । शुक्रबारबाट नेपालकै चिनी उद्योगबाट उपत्यकामा चिनी भित्रिन थालिसकेकाले नै उपत्यकाको बजारमा सहज चिनी पाइने भएको हो । उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयका अनुसार तिहारको समयमा चिनी अभाव हुन नदिन एभरेस्ट सुगर मिलमा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी शुक्रबारदेखि उपत्यकाको बजारमा आउन थालिसकेको छ । मन्त्रालयको पहलमा विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिमाणको चिनी आपूर्ति मन्त्रालयको समन्वयमा नेपाल खुद्रा व्यापार सङ्घमा आबद्ध व्यापारीमार्फत बजारमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार उपत्यकामा दुई सय मेट्रिक टन भित्रिएको र शनिबार तीन सय मेट्रिक टन चिनी भित्रिनेछ । आपूर्ति मन्त्रालयका प्रवक्ता एवं आपूर्ति महाशाखाका प्रमुख गजेन्द्रकुमार ठाकुरले अबको तीन दिनभित्र उपत्यकामा चिनी सहज हुने जानकारी दिनुभयो । नेपालका उद्योगीबाट आएको चिनी खुद्रा व्यापारीमार्फत प्रतिकेजी ११७ रुपियाँमा बिक्री हुने पनि उहाँले जानकारी दिनुभयो । सङ्घका अनुसार काठमाडौँ उपत्यकामा एक हजार सात सय बढी खुद्रा व्यापारी सङ्घमा आबद्ध छन् ।

फास्ट ट्र्याकबाट चिनी आउँदै

नेपाल सरकारको माथिल्लो तहबाट आग्रहपछि भारतको कृषि मन्त्रालयले भारतको प्रचलित मूल्य अनुसार नेपालमा तत्काल २५ हजार मेट्रिक टन चिनी निर्यात गर्ने अनुमति दिएको हो । यसअघि भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएकाले बजारमा चिनी अभाव भएको थियो । विश्वको सबैभन्दा ठुलो चिनी उत्पादक मुलुक भारतले नै उत्पादनमा कमी आएको भन्दै अन्य मुलुकमा निर्यात गर्न रोकेको थियो ।

भारतले तीनरचार महिनाअघिदेखि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको थियो । अब भारतबाट जिटुजीबाट चिनी आएपछि कालोबजारी घट्नुका साथै महँगी र अभाव हट्ने विश्वास गरिएको छ । महाशाखा प्रमुख ठाकुरले आउँदो साताभित्रै भारतबाट २५ हजार मेट्रिक टन चिनी ‘फास्ट ट्र्याक’ माध्यमबाट ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो । नेपाल र भारत सरकारको सहमति अनुसार तिहार अगाडि नै नेपालमा ‘फास्ट ट्र्याक’ बाट २५ हजार मेट्रिक टन चिनी आयातको प्रक्रिया शुक्रबारदेखि सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो । महाशाखा प्रमुख ठाकुरले भन्नुभयो, “भारतबाट नेपालमा चिनी ल्याउनका लागि कानुनी प्रक्रिया सबै पूरा गरेर आजै सबै कागजात पठाइसकेका छौँ, सक्दो छिटो ल्याउने प्रयास गरिरहेका छौँ ।” भारत सरकार पनि नेपालमा छिट्टै चिनी पठाउने विषयमा सकारात्मक भएकाले अबको तीनरचार दिनमा नेपालमा चिनी आउने र मूल्य अहिलेभन्दा सस्तो हुने उहाँको भनाइ छ ।

२० हजार मेट्रिक टन भन्सार छुटमा

आपूर्ति मन्त्रालयका अनुसार भारतबाट २० हजार मेट्रिक टन भन्सार छुटमा सरकारी सहमति अनुसार ल्याइनेछ भने बाँकी पाँच हजार मेट्रिक टन केही दिनमा आउनेछ । भन्सार छुटमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ल्याइने १०र१० हजार मेट्रिक टन चिनी पहिलेभन्दा सस्तो हुनेछ । अहिले भारतमा बिक्रीको प्रचलित मूल्य अनुसारको चिनी आउने भएकाले भन्सार शुुल्क र ढुुवानी जोड्दा प्रतिकेजी ९० रुपियाँभित्रै उपभोक्ताले चिनी प्राप्त गर्न सक्ने आपूर्ति मन्त्रालयले दाबी गरेको छ । आपूर्ति मन्त्रालयका प्रवक्ता एवं महाशाखा प्रमुख ठाकुरले भारतबाट नेपालमा चिनी आउनेबित्तिकै बजारमा लुकाएको सबै चिनी बजारमा आउने र अझै सस्तो पनि हुन सक्ने बताउनुभयो । नेपालमा दसैँ सुरु भएदेखि नै चिनी महँगो मात्रै होइन, अभाव नै हुन थालेको थियो तर यो पटक त चिनी प्रतिकेजी १६० रुपियाँ पुगेको छ । त्यो पनि सहज रूपमा सबै पसलमा पाइँदैन । गोरखापत्रबाट