जनता टाइम्स

२० कार्तिक २०८०, सोमबार १२:४५

बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग


बागलुङ, २० कात्तिक । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा बागलुङका दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले रु तीन लाख ७५ हजार र छ गाउँपालिकाले रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बागलुङ जिल्लाका स्थानीय तहले प्रदान गर्ने नगद, उद्योग वाणिज्य सङ्घ बागलुङ, जिल्ला रेडक्रस सोसाइटी बागलुङ, रोटरी क्लब अफ बागलुङ र अन्य सङ्घ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको बताउनुभयो । भूकम्प पीडितका लागि आवश्यक लत्ताकपडा बागलुङ उद्योग वाणिज्य सङ्घमार्फत कपडा तथा फ्रेन्सी व्यवसायी समितिद्वारा सङ्कलन गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

बारबर्दियाद्वारा पाँच लाख सहयोग

बर्दियाको बारबर्दिया नगरपालिकाले भूकम्प प्रभावितका लागि रु पाँच लाख २५ हजार आर्थिक सहयोग गर्ने भएको छ । आइतबार बसेको कार्यपालिकाको बैठकले दैवी प्रकोप व्यवस्थान कोषबाट रु पाँच लाख २५ हजार दिने निर्णय गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायतका कार्यमा सहयोग पु¥याउन नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख २५ हजार जम्मा गर्ने निर्णय भएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइले जानकारी दिनुभयो ।