जनता टाइम्स

२५ कार्तिक २०८०, शनिबार १३:४३

आगलागीमा वृद्धाको मृत्यु


झापा, २५ कात्तिक । अर्जुनधारा नगरपालिका–१० मा आफ्नै घरमा राति भएको आगलागीमा परेर ७३ वर्षीया दिलकुमारी राईको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार राई दम्पती बसोबास गर्दै आएको कच्ची टाटी बेरा र टिनको छानो भएको घरमा शुक्रबार राति अचानक आगलागी भएको थियो ।

राति ८ बजेतिर आगलागी हुँदा वृद्धा दम्पती घरभित्रै थिए । आगलागीमा परी वृद्धा राईको घटनास्थलमै मृत्यु भयो भने उहाँका पति ७५ वर्षीय शिवकुमार राई गम्भीर घाइते हुनुभएको रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीको खबर पाएलगत्तै सालबारी अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुग्दा वृद्धाको मृत्यु भइसकेको थियो । घाइतेलाई उपचारका लागि शनिश्चरेस्थित अर्जुनधारा नगर अस्पतालमा भर्ना गरिएको छ । आगलागीका कारण थाहा हुन सकेको छैन । आगलागी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाउको छ ।

दुई फरार अभियुक्तलाई पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले बैंकिङ कसुरका दुई फरार अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ । पक्राउ परेका मेचीनगर वडा नं १० की ३७ वर्षीया जुनु तिम्सिनालाई पाँच दिन र विर्तामोड वडा नं २ का ३१ वर्षीय शमशेर कन्दङ्वालाई सात दिनको कैद तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिनुभयो ।

उच्च अदालत विराटनगरले अभियुक्त तिम्सिनालाई पाँच दिन कैद, रू पाँच लाख जरिवाना र रू २० हजार पीडित राहत कोषमा जम्मा गर्न गत जेठ ३१ गते फैसला गरेको थियो । सोही अदालतको इलाम इजलासले अभियुक्त कन्दङ्वालाई सात दिन कैद, रू सात लाख ५० हजार जरिवाना र रू ३० हजार पीडित राहत कोषमा जम्मा गर्न गत वर्षको असोज ५ गते फैसला सुनाएको थियो ।

शुक्रबार पक्राउ परेका दुवै अभियुक्तलाई झापा जिल्ला अदालतमा पेस गरी आज जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । आफ्नै भिनाजुको हत्यामा संलग्न बुद्धशान्ति गाउँपालिका–५ का ३५ वर्षीय रोशन अधिकारी पक्राउ परेका छन् । सूचना अधिकारी रिजालका अनुसार अभियुक्त अधिकारी कात्तिक २२ गते राति भिनाजु नाता पर्ने ४५ वर्षीय धनबहादुर कटुवाललाई घरायसी विवादमा खुकुरीले प्रहार गरेर हत्या गरी फरार भएका थिए ।