काठमाडौं, १३ मंसिर । परराष्ट्र मन्त्री एनपी साउद कतार भ्रमणमा जाने हुनुभएको छ । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ मा कतार जान लाग्नु भएको हो ।
यसअघि मंसिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अलमुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिनुभएको थियो । त्यसअघि मंसिर ७ गते (बिहीबार) उहाँले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गर्नुभएको थियो ।
परराष्ट्र मन्त्री साउदले आज (बुधवार) गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गर्नुभएको थियो । कतार बसाइँका क्रममा उनी दोहा २१ औँ फोरममा पनि सहभागी हुनुहुनेछ । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।














प्रतिक्रिया दिनुहोस्