काठमाडौं, १४ मंसिर । पार्टीको १४औं महाधिवेशनसँगै एकै ठाउँमा आइपुगेका नेपाली कांग्रेसका नेता शेखर कोइराला, वर्तमान महामन्त्री गगनकुमार थापासहित संस्थापनइतर गुट दुई वर्ष बित्दा नबित्दै विभाजित हुन पुगेको छ। २०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भएको पार्टी संसदीय दलको नेता निर्वाचनमा महामन्त्री थापा संस्थापनइतर समूहबाट आफैं उम्मेदवार बन्नुभएको थियो ।
शेरबहादुर देउवासँग पार्टी नेतृत्वमा प्रतिस्पर्धा गरेका शेखर कोइरालाले संसदीय दलको नेतामा पनि प्रतिस्पर्धा गर्न चाहनुभएको थियो तर संस्थापनइतर समूहबाट आफू दलको नेतामा प्रतिस्पर्धा गरिछाड्न थापाको अडानपछि कोइराला पछाडि हट्नुभएको थियो ।
कोइराला १५औं महाधिवेशनमा सभापतिमा सहयोग गर्ने वाचासहित थापा दलको नेताका लागि मैदान खडा हुनुभएको थियो । बढ्दो आशंका र अविश्वासबीच कोइराला र थापा पक्ष बाहिर भए पनि एक ठाउँमा देखिँदै आउनुभएको थियो । तर एमालेको समर्थनमा कोइरालानिकट नेता केदार कार्कीलाई कोसी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा पुर्याएसँगै कोइराला र थापाबीच संवादहीनताको अवस्था छ। कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनले दुईपटक मुख्यमन्त्रीमा अघि सारेको थियो।
तेस्रो पटक मुख्यमन्त्री पद कांग्रेसले माओवादीलाई छाडिदिएको थियो तर कोइरालाले एमालेसँग मिलेर कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा पुर्याउँदासम्म त्यसको सुइको थापाले पाउनुभएन । त्यसप्रति थापा कोइरालासँग सन्तुष्ट छैनन् । त्यसले कांग्रेसभित्र संस्थापनइतर समूह थप कमजोर बन्न पुगेको छ। साथै, कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलसमेतलाई जोडेर अघि बढ्ने कोइराला प्रयासलाई कमजोर बनाएको छ।
१४औं महाधिवेशनको सम्पूर्ण परिणाम नआउँदै १५औं महाधिवेशनको चासो र चर्चा सुरु भएको कांग्रेसमा नेतृत्व प्रतिस्पर्धाका लागि कोइराला र थापाले आआफ्नो तयारी थाल्नुभएको छ । कोइरालाले सभापतिमा ४० प्रतिशत मत पाउँदा थापा लोकप्रिय मतसहित महामन्त्री निर्वाचित भएका थिए । त्यतिबेला पनि गुटगतभन्दा व्यक्तिगत मत मागेको आरोप खेपेका थापाले आगामी महाधिवेशन केन्द्रित राजनीतिक भेटघाट र जिल्ला दौडाहा सुरु गर्नुभएको छ ।
नेता शेखर कोइरालाले १४औं महाधिवेशनमा ‘यस पटक र एक पटक’ भन्ने नारा दिएको भन्दै निकटहरूले थापा सभापतिको प्रत्याशी बन्ने दाबी गर्दै आउनुभएको छ । पछिल्ला दिनमा थापाले जिल्लाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आउनुभएको छ । कोइराला पनि १४औं महाधिवेशनका बेलाको प्रतिकूल अवस्थामा पनि ४० प्रतिशत मत पाएको भन्दै आगामी महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न सक्रिय हुनुहुन्छ । यो समाचार नागकि दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्