जनता टाइम्स

१५ मंसिर २०८०, शुक्रबार १३:३३

यो सरकारको कुनै भर छैन, हाम्रो पदयात्रा नसकिँदै ढल्न सक्छ– अध्यक्ष ओली


काठमाडौं, १५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैं ढल्ने दाबी गर्नुभएको छ ।
समृद्धिका लागि संकल्प यात्राअन्तर्गत डडेलधुरामा शुक्रबार आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड सरकार गठबन्धनको छेस्का अड्याएको भएर आफैं ढल्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो , ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौं ।

यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं । यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।’ सरकार माओवादी नीतिमा प्रचण्ड पथमा हिँड्न खोजेको ओलीले टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो , ‘कांग्रेस प्रचण्डपथको भरिया बनेको छ ।

आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ । हो होइन अदालतले भन्ला । उहाँले नेपाली जनताका बीचमा द्वन्द्व मच्चाउन खोज्नेहरुले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको आरोप लगाउनुभयो । चिहान बाट राजतन्त्र फर्काउन भूतप्रेतवादी तत्व सलबलाएको ओलीको टिप्पणी छ । अध्यक्ष ओलीले भन्नुभयो , ‘सत्ता गठबन्धन र गठबन्धनका नेताहरु सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेका छन् ।’