काठमाडौं, ११ पुस । मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा हुँदै छ । यसैबिच सरकारले उक्त राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको छ ।
यसका साथै दस वटा आधुनिक सहर पनि यही राजमार्ग अन्तर्गत स्थापना हुँदै छन् । केपी ओली प्रधानमन्त्री हुँदा सुरु भएको यो राजमार्ग हालसम्म करिब तीन तिहाइ निर्माण भइसकेको छ । मुलुकलाई पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो ।
पूर्वमा पाँचथरको चिवाभन्ज्याङ (नेपाल–भारत सिमाना० देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करिब एक हजार ८७९ किलोमिटर लम्बाइको निर्माणाधीन यो राजमार्गको अहिलेसम्मको भौतिक प्रगति ७२.९६ प्रतिशत र वित्तीय प्रगति ७८.२४ प्रतिशत पुगेको उक्त राजमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “राजमार्गको कुल लम्बाइमध्ये आयोजनाबाट ९४८ किलोमिटर, अन्य सडक निकायबाट ४६२ किलोमिटर गरी एक हजार ४१० किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने अहिले ३५३ किलोमिटर सडक निर्माणाधीन छ ।” उहाँका अनुसार यस राजमार्ग अन्तर्गत निर्माण गर्नुपर्ने १३७ पुलमध्ये १०२ वटा पुल सम्पन्न भइसकेका छन् भने अहिले २० वटा पुल निर्माणाधीन छन् ।
त्यसै गरी अहिलेसम्म ११६ किलोमिटर सडक र १५ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छन् । यो आयोजना अन्तर्गत अहिलेसम्म ६५ अर्ब ९७ करोड रुपियाँ खर्च भइसकेको छ । यस राजमार्ग अन्तर्गत निम्न १० वटा आधुनिक सहर निर्माण गर्ने लक्ष्य लिइएको छ । जसमा फिदिम (पाँचथर) वसन्तपुर (तेह्रथुम) खुर्कोट (सिन्धुली) बैरेनी (धादिङ) डुम्रे (तनहुँ) बुर्तिबाङ (बागलुङ) चौरजहारी (रुकुम) राकम कर्णाली (दैलेख) साँफेबगर (अछाम) र पाटन (बैतडी( गरी १० वटा आधुनिक सहर निर्माण हुने छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्