जनता टाइम्स

२२ पुष २०८०, आईतवार १५:१०

व्यवस्थित भएन सहिद स्मारक पार्क


ललितपुर, २२ पुस। ललितपुर महानगरपालिका–२ सानेपास्थित बागमती करिडोरमा शहीद स्मारक पार्क निर्माण सुरु भएको करिब १५ वर्ष बितेपनि पार्कले अझै पूर्णता पाएको छैन । विसं २०६६ मा शहीदको सम्झनामा शहीद स्मारक पार्क निर्माण समितिद्वारा निर्माण सुरु भए पनि हालसम्म पार्क व्यवस्थित बन्न सकेको छैन ।
बागमती करिडोरमा स्मारक पार्कसँगै निर्माण सुरु गरेका बिपी र मनमोहन पार्क हाल हराभरा छन् । अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिले बागमती करिडोरलाई व्यवस्थित गर्ने जिम्मा लिएपछि तत्कालिन शहीद स्मारक पार्क निर्माण समिति अहिले छैन भने पार्क हेरचाहका निम्ति कर्मचारी पनि छैनन् । उक्त पार्क अस्तव्यस्त अवस्थामा छ ।
विकास समितले करिडोरका पार्कलाई थप व्यवस्थित गर्न महानगरलाई हस्तान्तरण गर्ने पक्रियामा रहेकाले हस्तान्तरणपछि सबै पार्कलाई थप व्यवस्थित गरिने ललितपुर–२ का वडाध्यक्ष राजेशकुमार महर्जनले जानकारी दिनुभयो । हेरचाहका लागि कर्मचारी नरहेकाले हाल पशुचौपाय पार्कमा प्रवेश गरेका हुन्छन् ।
सधैँ खुल्ला रहने गेटमा ठूलो अक्षरमा ‘शहीद स्मारक पार्क’ लेखिएकाले मात्र पार्क हो भन्ने थाहा हुने स्थानीय बताउँछन् ।
विकास समितिले महानगरलाई पार्क हस्तारण नगरेपनि वडाले शहीद स्मारक पार्कको संरक्षण गरिरहेको वडाध्यक्ष महर्जनले जनाउनुभयो । उहाँले भन्नुभयो, “विकास समतिले महानगरलाई अधिकार हस्तान्तरण गरेपछि पार्कलाई थप व्यवस्थित गर्ने तयारीमा छौँ ।”