जनता टाइम्स

५ माघ २०८०, शुक्रबार ०८:३५

विभाजनको सँघारमा लोसपा


काठमाडौँ, ५ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । लोसपा विभाजन हुने निश्चित भएसँगै अन्य दुई पार्टीसँग एकीकरणको आन्तरिक गृहकार्यसमेत सँगसँगै भइरहेको छ ।

लोसपाबाट विद्रोह गर्दै वरिष्ठ नेता राजेन्द्र महतोले गठन गर्ने नयाँ दल, प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा) र डा सीके राउत नेतृत्वको जनमत पार्टीबीच एकीकरण गर्ने आन्तरिक तयारी भइरहेको छ । महतो नयाँ दल गठन गर्दै आन्दोलनको तयारीमा हुनुहुन्छ भने साह आन्दोलनमै हुनुहुन्छ । साहले ११ माघमा मधेस बन्दको आह्वान गर्नुभएको छ । यस्तै, उहाँले विभिन्न माग गर्दै चरणबद्ध आन्दोलन गरिरहनु भएको छ । उता, संघीय र प्रदेश दुवै सरकारमा सहभागी डा राउत सरकारकै विरुद्ध आन्दोलनमा हुनुहुनछ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजन भएर २०७८ भदौमा गठन भएको लोसपाको केन्द्रीय समिति दुई वर्षपछि विस्तार भयो । लोसपामा अध्यक्ष महन्थ ठाकुरको परिवारवाद हावी भएको, पूर्वकांग्रेसीलाई महत्व दिएको र पूर्वसद्भावनालाई ठाउँ नदिएको आरोप लगाउँदै वरिष्ठ नेता महतो असन्तुष्ट हुनुहुन्छ । केन्द्रीय समिति बैठकसमेत बहिष्कार गर्नुभएका महतो पछिल्लो समय पार्टी कार्यालयमा समेत जान छाड्नुभएको छ । हालै उहाँ नयाँ दिल्ली पुगेर काठमाडौँ फर्किएपछि नयाँ दल गठन गर्दै आन्दोलनको तयारीमा जुट्नु भएको छ ।

नयाँ दिल्ली पुगेका महतोले भारतीय जनता पार्टी (बीजेपी) का पूर्वअध्यक्षसमेत रहेका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायतका नेताहरूसँग भेटघाट गरेको उहाँनिकट एक नेताले जनाउनुभएको छ । बीजेपी नेतासँग भेटघाट गरेर नेपाल फर्किपछि उत्साहित हुनुभएका महतोले मधेसमा आन्दोलन चर्काउने योजनाअनुसार पार्टीका केन्द्रीय नेतालाई काठमाडौँ बोलाएर छलफल थाल्नुभएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।