जनता टाइम्स

२८ माघ २०८०, आईतवार २०:३९

माओवादी केन्द्रीय समिति बैठक : प्रदेशका इन्चार्ज र अध्यक्षद्धारा पार्टी अभियानको बारेमा ब्रिफिङ


काठमाडौं, २८ माघ । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकको पहिलो दिनमा सबै प्रदेशका इन्चार्ज र अध्यक्षले पार्टीको अभियानको बारेमा जानकारी गराउनुभएको छ । बैठकको पहिलो दिन प्रवाससहित सबै प्रदेश र आयोगबाट जानकारी राख्ने क्रम सकिएको हो । अब बैठक भोली विहान ११ बजे बस्ने गरी स्थगित भएको पार्टी प्रवक्तासमेत रहनुभएका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा सम्बन्धित प्रदेश इन्चार्जहरूले माओवादी विशेष चार महिने रुपान्तरण अभियानमा नेता तथा कार्यकर्ताहरूमा तीन प्रवृत्ति देखिएको ब्रिफिङ गर्नुभएको थियो । पहिलो तहमा इमान्दार भएर काम गर्ने, दोस्रो अलिअलि काम गर्ने र तेस्रोमा कामै नगर्ने प्रवृत्ति देखा परेको इन्चार्जहरूले रिपोर्ट पेस गर्नुभएको थियो ।

इन्चार्जहरूबाट आएका रिपोर्टका सम्बन्धमा भोली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि बैठक समापन हुने प्रवक्ता सापकोटाले बताउनुभयो । चार महिने अभियानले नेताहरूको कामको मुल्याङ्कन गर्ने आधार बनेको प्रवक्ता सापकोटाको भनाइ छ । बैठकमा वर्ग छोड्दा पार्टी कमजोर भएको हो कि भन्ने धारणा आएको पनि जानकारी दिनुभयो ।

त्यसो त यसअघिको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले काम नगर्ने नेताहरूमाथि कारबाही हुने चेतावनी दिनुभएको थियो । बैठकमा पार्टीका सचिवसमेत रहनुभएको कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनालले अभियानले केही आशावादी बनाएको बताउनुभयो ।

सबै नेता कार्यकर्ता सोँचेजस्तै गरी अभियानमा नखटे पनि ६० प्रतिशत नेता कार्यकर्ता अभियानले उत्साहित भएको भेटिएको जानकारी गराउनुभयो । उहाँले अभियानको क्रममा २६३९ टोल, १७१३ सेल कमिटी गठन भएको बताउनुभयो । उहाँले कामको आधारमा नेताको श्रेणी निर्धारण गरिएको पनि जानकारी गराउनुभयो ।

त्यस्तै बैठकमा पार्टीका उपमहासचिवसमेत रहेका बामगती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीप्रतिको शहरिया मनोविज्ञान बुझ्न अभियानले सहयोग गरेको बताउँदै अब कार्यक्रम तय गर्न सजिलो हुने बताउनुभयो । उहाँले अभियानमा पूरै खट्ने, आधा खट्ने र जाँदै नजाने गरी तीन श्रेणीमा कार्यकर्तालाई विभाजन गरी मूल्यांकन गरिएको बताउनुभयो ।