जनता टाइम्स

८ फाल्गुन २०८०, मंगलवार ०८:३२

मन्त्रिपरिषद् बैठकमै मन्त्री र प्रधानमन्त्रीबीच भयो भनाभन


काठमाडौं, फागुन ८ । सत्तारूढ दलहरूबीच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ ।प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबिच मन्त्रिपरिषद् बैठकमै विवाद हुन थालेको हो । मंसिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालयको कार्य प्रगतिमा प्रश्न उठाउँदै सचिवहरूकै अगाडि मन्त्री फेर्ने बताएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विषयमा मन्त्रिपरिषद् बैठकमै असन्तुष्टि ब्यक्त गर्नुभयो ।

उहाँले त्यतिबेला मन्त्रीहरूको कामकारबाहीप्रति प्रधानमन्त्री पनि जिम्मेवार हुनुपर्ने बताउनुभएको थियो । महतले मन्त्रिपरिषद्को समग्र नेतृत्व प्रधानमन्त्रीले गर्ने भएकाले सबै मन्त्रीको कार्यप्रगतिमा प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीका सल्लाहकारहरू जस अपजसको भागीदार हुनुपर्नेमा जोड दिनुभएको थियो। कार्यप्रगतिमा मन्त्रीको कमजोरी भए त्यसमा प्रधानमन्त्रीको हिस्सा कति भनेर पनि उहाँले प्रश्न उठाउनुभएको थियो । गृहमन्त्री र अर्थमन्त्रीबिच पनि विवाद भइसकेको छ । गृहमन्त्रीले अर्थ मन्त्रालयको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै सो विवाद भएको थियो । त्यसपछि पुसमा पनि प्रधानमन्त्री दाहालसँग अर्थमन्त्री डा.महतको भनाभन भएको थियो ।