काठमाडौं, ११ फागुन । प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले विरोध जनाएका छन्। शुक्रबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरूले विरोध जनाएका हुन्।बैठक सुरू भएपछि प्रतिपक्षी दलहरूले उभिएर विरोध जनाएका हुन्।
त्यसक्रममा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोल्दै सरकारमा रहेका मन्त्रीहरूमाथि नैतिक प्रश्न उठाउँदै विरोध जनाउनुभएको हो । जसक्रममा उहाँले मन्त्रीहरूको पनि राजीनामा माग गर्नुभएको छ । बालकुमारी घटना जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि नैतिक प्रश्न उठाएको भन्दै एमालेले राजीनामा माग गरेको हो। सांसद भट्टराईले जाँचबुझ आयोगको प्रतिवेदन संसदमा पेश गर्न माग समेत माग गर्नुभएको छ।
‘भौतिक पूर्वाधार मन्त्रीको लापरबाही, उहाँ जसरी त्यो बाटोमा जानुभयो र स्वयम् सरकारले बनाएको आयोग, छानबिन समिति मात्रै होइन,’ उहाँले भन्नुभयो, ‘आयोगले मन्त्री दोषी छ भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा नैतिक हिसाबले हुँदै हुँदैन।’यस घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा बालकुमारी घटनामा दुई युवाको मृत्यु नभई हत्या भएको भन्ने शब्द चयन गरेको हुँदा सरकार आफैंले जिम्मेवारी लिनुपर्ने भट्टराईले बताउनुभयो र ‘बालकुमारी घटनामा दुई जना युवाको हत्या भयो भनेर प्रधानमन्त्री स्वयमले भन्नुभएको छ।
यदी बालकुमारी घटनामा हत्या भएको हो भने कसले गर्यो त, नागरिक तहमा झडप भएर हत्या भएको होइन,’ उहाँले संसदमा भन्नुभयो , ‘सुरक्षाकर्मीको गोलीबाट बालकुमारीमा दुई जना युवाको हत्या भएको हो। यसमा सिंगो सरकार जिम्मेवार छ।’उहाँले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि हत्याको नैतिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो।
त्यसैगरी टेरामक्स घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बयान दिएको भन्दै एमालेले उहाँको पनि राजीनामा मागेको हो।सांसद भट्टराईले बयान नै प्रभावित हुनसक्ने गरी मन्त्री बस्नेतले सरकारी पदको दुरूपयोग गरेको बताउनुभयो । त्यसैगरी एमालेले संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किरातीको पनि राजीनामा माग गरेको छ।लुम्बिनीको रामग्रामलाई ९९ वर्षका लागि लिजमा दिएको भन्दै भट्टराईले उहाँको राजीनामा माग गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्