जनता टाइम्स

१४ फाल्गुन २०८०, सोमबार ०७:०६

गगनको प्रस्तावले देउवालाई छटपट !


काठमाडौं, १४ फागुन । कांग्रेस महासमिति बैठकबाट सर्वसम्मत रूपमा पास भएको पाँचवटा प्रतिवेदनलाई केन्द्रीय समिति बैठकबाट परिमार्जन गर्ने तयारीमा सभापति शेरबहादुर देउवा देखिनुभएको छ । आसन्न चुनावअघि गठबन्धन नगर्ने र कांग्रेसका मतदाताले रुख चिह्नमा भोट हाल्न पाउने सुनिश्चितता गर्दै महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गरेको प्रतिवेदन पारित भएसँगै तनावमा देखिनुभएका देउवाले सो विषयलाई संशोधन गर्न खोज्नु भएको छ । उहाँले महासमिति बैठकको समापनमा पनि सो विषय उठाउनुभएको थियो ।

सुरुमा सभापति देउवाले महामन्त्री थापाको प्रतिवेदनमा भएको सो वाक्यांश हटाएर महासमिति बैठकमा पेस गर्न भन्नुभएको थियो । सो विषयले गठबन्धनमा उत्तारचढाव आउने र आफ्नो प्रधानमन्त्री बन्ने भविष्य नै खतरामा पर्न सक्ने संकेतका रूपमा बुझेका देउवाले बूढानीलकण्ठमा पदाधिकारी बैठक राख्नुभएको थियो । सो विषयमा सहमत हुन नसकेपछि महामन्त्री थापाले महासमिति बैठकमा राखेको सांगठनिक प्रतिवेदन पारित भएपछि अर्को विकल्पका रूपमा सभापति देउवाले कांग्रेस केन्द्रीय बैठकबाट परिमार्जन गर्ने तयारीमा हुनुहुन्छ । आजको राजधानी दैनिकमा समाचार छ ।