जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १३:०९

रङ फैलाइरहेका रामचन्द्र


 

बुवाकाका संलग्न नेपाली सेनामा प्रवेश गर्दा रामचन्द्र खत्रीको जीवन सहज चल्थ्यो । तर, उहाँले आफ्ना पिर्तापुर्खा भन्दा केही फरक गर्ने सोच्नुहुन्थो । व्यापार व्यवसाय रोज्नुभयो । त्यसमा पनि त्यो समय निकै कम चल्ने व्यवसाय अर्थात् पेन्टको।

काठमाडौं उपत्यकामा पनि पेन्ट गर्ने गरी निकै कम घर बन्थे । ती घरले पनि सिमित रङ रोज्थे । त्यही समय अर्थात् २०४४ सालमा उहाँले रङ विक्री गर्ने व्यवसाय रोज्नु भयो। काभ्रेको पनौतीमा जन्मिनु भएका उहाँ  १४ वर्षको उमेरदेखि काठमाडौं बस्नु भएको हो। काठमाडौं आएको १० वर्षपछि व्यवसाय उहाँले व्यवसाय थाल्नु भयो।

न्यु बीआर इन्टरनेशनलका प्रोपाइटर खत्रीको पेन्ट विक्रिवितरणमा लाग्नुको कथा यसरी सुरु हुन्छ। उहाँलाई व्यवसाय गर्छु भन्ने लागेको थियो तर के गर्ने भन्ने पक्का भइसकेको थिएन। त्यही समय उहाँका एकजना साथीले सुझाए, ‘रङ विक्रीवितरण गर्ने व्यवसाय गर।’ उहाँका ती साथीको ‘आर्ट सेन्टर’ थियो। त्यसैले उहाँलाई लेख्नका लागि रङ चाहिन्थ्यो। उहाँले भन्नुभयो, ‘मलाई पनि रङ चाहिन्छ । अरूलाई पनि विक्री गर्न हुन्छ। यो व्यवसाय गर।’

सम्पन्नले मात्रै घरमा रङ लगाउन सक्ने समयमा जोसुकैले यो व्यवसायतिर लाग्ने सोच बनाउन सक्दैनथ्यो। खत्रीलाई भने साथीको उपाय मनासिव लाग्यो।

उहाँले पुल्चोकमा सानो विक्रीवितरण केन्द्र राखेर रङ बेच्न सुरु गर्नुभयो । जे काममा लागेपनि पूर्ण रूपमा खट्ने र मेहनत गर्ने उहाँको बानी थियो। पेन्टको विक्रीवितरणतर्फ लागेपछि उहाँ त्यसैगरी खट्नुभयो। उहाँबाट पेन्ट किन्नेको संख्या बढ्न थाल्यो । उहाँले ग्राहकको सजहताका लागि शाखा विस्तार गर्नुभयो । ‘न्यु बीआर इन्टरप्राइजेज’को शाखा महाराजगञ्ज शिक्षण अस्पताल नजिकै खुल्यो ।

 

 

 

शहरमा आधुनिक घर बन्ने क्रम बढ्दै गयो । सोखका लागि लगाइने रङ सुरक्षा र डिजाइनका लागि अनिवार्य बन्दै गयो । कर्मशील व्यक्ति खत्रीले थालेको व्यवसायको आकार फराकिलो हुँदै गयो । उहाँले वितरण पशुपति पेन्टबाट सुरु गर्नु भएको थियो। विस्तारै एशियन पेन्ट, अरू इन्डियन पेन्ट र अन्य देशबाट समेत मगाएर विक्री गर्न थाल्नुभयो । शाखा विस्तार हुँदै गए ।

अहिले उहाँले मुख्य कार्यालय ललितपुरको कुमारीपाटीमा स्थापना गर्नुभएको छ । विभिन्न ठाउँमा शाखाका साथै एजेन्सीसिप लिएर नेपालभरिका डिलरलाई सप्लाइ गर्ने काम गरिरहनु भएको छ ।

आफ्नै लगनका साथै साथीभाइ र आफन्तको हौसलाले यहाँसम्म ल्याइपु¥याएको हो । उहाँलाई लाग्छ, ‘म दुःख र मेहनत गर्न सक्ने मान्छे हुँ। साथीभाइको हौसला पनि पाएँ ।’

व्यवसाय गरेका यी ३१ वर्षमा उहाँको व्यवसाय मात्रै होइन, पेन्टको महत्वमा समेत आकाशपाताल फरक आइसकेको छ । भन्नुहुन्छ, ‘त्यो समय पेन्ट सम्पन्नहरूको सोखको विषय थियो। पेन्टका लागि बजेट छुट्याउने निकै कम थिए। महंगो पेन्ट बिक्दैनथ्यो।’

तर, अहिले सोख रहेन। पेन्ट अनिवार्य भइसक्यो। घर सुन्दर देखाउन मात्रै होइन, घरको सुरक्षाका लागि पनि पेन्ट जरुरी भइसकेको उहाँको ठहर छ। यसैगरी चाडबाडमा घर चिटिक्क देखाउन पनि रङ जरुरी हुन्छ। घर रिनोभेट गरिरहँदा पनि पेन्ट चाहिन्छ। अर्थात् अहिले हरेक घरमा पेन्ट अनिवार्य भइसकेको छ।

उहाँका अनुसार त्यो बेला सिमित रङ हुन्थे। त्यसमा पनि एकै प्रकृतिका कलर उपभोक्ताका छनोटमा पर्थे। नेपालमा उत्पादक पनि पाँचसातवटा मात्रै थिए।

अहिले नेपालमै ४० भन्दा बढी उत्पादक भइसके। तीन हजार भन्दा बढी डिलर भइसके। उपभोक्ताको चाहना फेरिएको छ। उहाँलाई लाग्छ, ‘पुस्ता नै फेरियो। हरेकका रुची फरक हुन्छन्। फरक पेन्टको माग गर्छन्।’ पेन्टको बजारमा पनि उपभोक्ताको चाहना सँगसँगै दौडिरहेको छ। हाल १० हजार भन्दै बढी सेट पेन्ट बन्ने गरेको उहाँ बताउनु हुन्छ।

पेन्टको रङ आकर्षक भएर मात्रै पुगेन। स्वस्थकर हुनुपर्ने कुरामा समेत वर्तमान पुस्ता सचेत छ। त्यसैले पेन्ट पनि अहिले लिड फ्रि भएर आएको उहाँलाई लाग्छ। यसले उपभोक्तामा पेन्टप्रतिको विश्वास झन् बढेको छ।

त्यो बेलै उहाँलाई पेन्टको माग बढ्दै जान्छ भन्ने लागेको थियो। किनभने शहरीकरण बल्ल न सुरु भएको थियो। त्यसैले उहाँले यो व्यवसायको विकल्प कहिल्यै  सोच्नु  भएन ।

पेन्ट व्यवसायको भविष्य मानव जनसंख्यासँग हुन्छ। जनसंख्या बढ्दैछ। यसको उत्पादन र खपत पनि बढ्दै गएको छ।

अहिले उहाँले इन्डियन सालिमार, एशियन, बर्जर, केएनपी जस्ता पेन्टको विक्रीवतरण गरिरहनु भएको छ ।  मल्टिनेशनल कम्पनी सालिमारको न्यु बीआर इन्टरप्राइजेज सोलो डिस्टब्युटर्स हो।

उहाँ आफ्नो व्यवसायका साथै संघसंस्थामा पनि सक्रिय हुनुपर्ने स्वभावका व्यक्तित्व हुनुहुन्छ । विगत १२ वर्षदेखि उहाँ पेन्ट वितरकहरूको संस्था पेन्ट डिलर्स एशोसियसनमा पनि हुनुहुन्छ । त्यसमध्ये ९ वर्ष उहाँ उपाध्यक्षको जिम्मेवारीमा रहनु भयो। २०७४ सालमा भने उहाँलाई निर्विरोध अध्यक्ष जिम्मेवारी दिइएको छ ।

यस्तो पेशागत संघ संगठन सामान्यतया पेशागत हकहितका लागि गठन गरिएका हुन्छन् । यो संगठनले पेशागत हकहितका साथै उपभोक्ताका विषयमा समेत ध्यान दिन्छ ।

खासगरी उद्योगी र व्यवसायीबीचको सम्बन्ध सुमधुर राख्न यसले निरन्तर भूमिका खेलिरहेका हुन्छन्। असमझादारी आउँदा संगठनलाई गुहार्ने गरिएको उहाँ  बताउँनुहुन्छ। संगठनले दुवैलाई मिलाउने काम गरिरहेको हुन्छ।

यसबाहेक उपभोक्तासँग सरोकार राख्ने मूल्यको विषयमा संगठन निरन्तर सक्रिय छ। सकेसम्म सुलभ बनाउने र एकरूपता कायम राख्ने कार्यमा आफूहरू लागिपर्ने गरेको उहाँको भनाई छ। भन्नुहुन्छ ‘उपभोक्ताले सहज पाओस्। सही मूल्यमा राम्रो पेन्ट पाओस् भन्ने हाम्रो चाहना छ।’ संस्थाका सक्रिय सदस्य ३ सय भन्दा बढी छन्।

लामो समय पेन्ट विक्रीवितरण गरेको अनुभव उहाँसँग छ। चाँडै नै उत्पादन समेत गर्ने योजनामा उहाँ अघि बढेका छन्। यसका लागि पृष्ठभूमि तयार भइसकेको उहाँ बताउनुहुन्छ। कुनै मल्टिनेशनल कम्पनीसँग मिलेर आफ्नै पेन्ट उद्योग स्थापना गर्ने उहाँको सपना साकार हुँदैछ। त्यसपछि उहाँको व्यवसायले अझै फड्को मार्नेछ। रङ फैलाउन लागिपरेका उहाँकै व्यवसायिक जीवनमा नयाँ रङ चाँडै थपिने निश्चित भैइसकेका छ।

उदाउँदो बजारमा लगानी गरिरहेका कारण यसबाट आफूले व्यवसायिक सफता हासिल गर्ने कुरामा उहाँमा विश्वास छ ।  किनकी रङ व्यवसायको बजार हरेक वर्ष बढ्दै गइरहेको छ। किनभने घर बन्ने क्रम जति बढ्छ्, यसको बजार त्यति बढ्छ ।