काठमाडौं, जेठ १७। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको हठात सरुवा रोकिएको छ ।
गृह मन्त्रालयकै मिलेमतोमा बिमानस्थलस्थित अध्यागमन बिभागबाट भइरहेको मानव तस्करीको बिषयमा अनुसन्धान गरिरहेको बेला गृहमन्त्री रमेश लेखकले शुक्रवार ११ जना डीआईजीको पदस्थापन गरेसँगै अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा गर्नुभएको थियो । डिआइजी श्रेष्ठलाई पनि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गर्ने निर्णय गर्नुभएको थियो ।
यही जेठ १३ गते (मंगलबार) को मितिमा भएको उक्त निर्णय सार्वजनिक भएसँगै गृहमन्त्री लेखकको आलोचना हुन थालेपछि तत्काल कार्यन्वयन नगर्ने पक्षमा रहेको उहाँको सचिवालयले जानकारी दिएको छ। श्रेष्ठलाई अख्तियारमै कायम राखेर रानीपोखरी कार्यालयमा ओमबहादुर रानालाई खटाइने भएको छ। यसअघि श्रेष्ठलाई अख्तियारबाट सरुवा गरेर रानालाई अख्तियारमा पदस्थापन गर्ने निर्णय भएको थियो। अख्तियारमा भिजिट भिसाको सेटिङमा अनुसन्धान भइरहेकाले अख्तियारका डीआईजी सरुवा गर्दा विवाद देखिएको हो।
भिजिट भिसाको सेटिङमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईमाथि अनुसन्धान भइरहेको छ । भट्टराई अनुसन्धानमा तानिएपछि बिमानस्थल अध्यागमनमा सरुवा गर्ने गृहमन्त्री र गृह मन्त्रालयका अन्य कर्मचारीमाथि पनि अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ। गृहमन्त्रीमाथि अनुसन्धानको माग गरेर विपक्षीहरूले संसद अवरुद्ध गरिरहेका छन्।
बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्दै फेरि पनि संसद चल्न नदिने अडान कायम राखेका छन्। यता गृह मन्त्रालयले भने श्रेष्ठलाई उहाँकै चाहना अनुसार सरुवा गर्ने निर्णय भएको दाबी गरेको छ।
श्रेष्ठसँगै पदस्थापन भएका डीआईजीहरू प्रदेश इन्चार्ज भएर गइसकेको र श्रेष्ठले पनि त्यहाँबाट सरुवा हुन चाहेकाले नै सरुवा गरेको गृहमन्त्री निकट स्रोतको दाबी छ। श्रेष्ठ पहिलादेखि नै सरूवा हुन चाहेको र अख्तियारको सहमतिमै सरूवा गरिएको भए पनि विभिन्न टीकाटिप्पणी गरिएकाले तत्काल उक्त निर्णय कार्यान्वयन नगरिएको गृह स्रोतको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्