काठमाडौं, १६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद रहेको टिप्पणी गर्नुभएको छ । आज सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले आगामी असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरूले ताली बजाएकोमा आफूलाई अचम्म लागेको बताउनुभयो ।
‘संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ?’ भनी प्रश्न गर्नुभयो । उहाँले संविधान, कानुन कता छ, संसदमा के छ ? भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर कराएर हिँड्ने गरेकाले देशमा व्यवस्था विरोधी अराजक गतिविधि बढिरहेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले थप्नुभयो, ‘कुनै राजनीतिक पृष्ठभूमि नभएका, कुनै जनाधार नभएका, राजनीतिक दृष्टिकोण नभएका, कुनै प्रकारको गन्तव्य नभएका, कुनै नीति नभएका, त्यस्ता तत्वहरू । आज कति हास्यास्पद छ देशको राजनीति, जो मान्छे संसदमा छैन, त्यस्तो मान्छे सडकमा आएर भन्छ– म असार १५ गते प्रधानमन्त्री हुन्छु, अगाडि बसेका मान्छेहरू हो, हो भनेर ट्यापट्याप गर्छन् । अचम्म लाग्छ । संविधान कता छ ? कानून कता छ ? संसद के छ ? त्यो केही थाहा छैन । अनि एउटा मान्छेले कराई दिन्छ–म असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर । कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ऊ ? यस्तो अराजकता । के बोल्दैछु उसलाई थाहा छैन ।’
अध्यक्ष ओलीले आगामी, २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने समेत दाबी गर्नुभयो । ‘देशमा दक्षिणपन्थी प्रतिक्रियावादीको सरकार कुनै गठबन्धनको सरकार बन्न एमालेले दिँदैन । देश बर्बाद पार्न एमालेले दिँदैन २०८४ मा एमालेले एकल बहुमत ल्याउँछ । बहुमतको सरकार बनाउँछ २०८४ मा, यो लुकाउने कुरा छैन,’ उहाँले भन्नुभयो । सरकारको असफलताले देश, राजनीति र अर्थतन्त्र असफलतातिर गएको र समाज अराजक बनेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले एमालेलाई ठूलो संकटबाट पार्टीका दोस्रो तहका नेता र आम कार्यकर्ताले बचाएको उल्लेख गर्दै अहिले विरोधीहरूको कुनै पनि षड्यन्त्रलाई परास्त गर्न सक्षम भइसकेको दाबी गर्नुभयो । उहाँले वर्तमान सरकार र सत्तारुढ गठबन्धनको नालायकीपनका कारण देश बर्बादीको दिशातिर अघि बढेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्