जनता टाइम्स

२१ फाल्गुन २०८०, सोमबार १७:२९

माधव मर्माहत, पोखे पार्टी नै रहन्न कि भन्ने पीडा


काठमाडौं, फागुन २१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शहीद दिवसकै दिन पाएको सजायले निकै मर्माहत बनेको बताउनु भएको छ ।

नयाँ गठबन्धन निर्माण भएसँगै सत्ताबाट बाहिरिनु परेको बिषयमा आफू निकट नेताहरुसँग माधवले यस्तो पीडा सुनाउनु भएको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धन बनेको बिषयमा आज मात्रै चाल पाउनु भएको थियो ।

एमाले–माओवादी गठबन्धन बनेसँगै माधवले आफू निकट नेताहरुसँग शहीद दिवसकै दिन मर्माहत हुने गरी सजाय पाएको भन्दै पीडा पोख्नुभएको हो ।

आजको सहमतिसँगै एमाले फुटाएर कांग्रेस नेतृत्वको गठबन्धन बनाएको नेकपा एकीकृत समाजवादी सत्ताबाट बाहिर पुगेको छ । कांग्रेस र माओवादीले सधै साथ दिन्छ भन्दै पार्टीका नेता–कार्यकर्ता थुमथुम्याउँदै आउनु भएका अध्यक्ष नेपालले अव पार्टी नै रहन्छ कि रहन्न भन्नेसम्मको निरासा पोख्नुभएको छ ।

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाएको बारेमा आफूलाई बेखवर राखेको भन्दै नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश पोख्नुभयो ।

माधवले बालकुमारी घटनामा दोषी किटान भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई हटाउन नमिल्ने अडान लिएपछि प्रधानमन्त्री दाहाल बिच्किएको र यति ठूलो बदला लिएकोसमेत आफू निकट नेताहरुसँग गुनासो पोख्नुभयो ।

माधवको भनाई उधृत गर्दै एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार उहाँले ‘प्रचण्डले थाज दिएको भए म पनि केपीसँग कुरा गर्थें नि’ भन्दै दाहालले धोका दिएको आरोप लगाउनु भएको हो ।

नेकपा एसका अध्यक्ष नेपालले २०७९ पुस १० गते एमाले– माओवादीसहित बनेको समीकरणलाई भत्काएर कांग्रेससँग समीकरण गराउन भूमिका खेल्नुभएको थियो । सो गठबन्धन आफैले बनाइदिएको दावी माधवले गर्दै आउनु भएको थियो ।

आजको छलफलमा पनि उहाँले सोही बिषयमा मैले बनाइ दिए, मलाइ नै थाहपत्तो नदिइ प्रचण्ड ओलीतिर मिलेछन’ भन्दै आक्रोश र पीडा पोख्नुभएको हो ।

कांग्रेस नेतृत्वको गठबन्धमा प्रचण्डपछि माधव र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको थियो । तर आजको नयाँ समीकरणसँगै माधवको सपना हावाले उडाइदिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति अफर गर्दा भारतको निर्देशन मानेर उम्मेवार नबनी देउवाको सेवामा जानुभएका नेपाल प्रधानमन्त्री प्रचण्डले पुनः एमालेसँगै सहकार्य गर्दै पुस १० मा फर्कनुभएपछि गल्ती भयो भन्दै पछुतोसमेत मान्नुभएको ती नेताले बताए ।

‘माधव कमरेड प्रधानमन्त्रीप्रति निकै आक्रोशित त हुँदै हुनुहुन्छ, ओलीले राष्ट्रपति दिन आउँदा अर्काको कुरा मानेर गल्ती भयो भन्दै अव पार्टी नै नरहने भयो भन्ने पीडा सुनाउनु भयो,’ माधव निकट अर्का नेताले भने । उनका अनुसार सत्ताबाट बाहिरिएसँगै अव कार्यकर्तालाई थमाउने कुनै बिकल्प आफूसँग नरहेको बताउनु भएको थियो ।

बिगतमा एमालेबाट आफूतिर ल्याउदा कांग्रेस–माओवादी र हामी मिलेर १५ बर्ष शासन गर्ने हो भन्दै पद बाँडेर तान्नुभएका नेपाल अव सत्ताबाटै आउट भएप्छि पार्टी नरहने भन्दै निरास बन्नुभएको उनको भनाई छ ।