जनता टाइम्स

२२ फाल्गुन २०८०, मंगलवार ०९:५१

नयाँ समीकरणले प्रदेशसम्मै धक्का, नेकपा एस र लोसपालाई गठबन्धनमा भित्र्याउने पक्का


काठमाडौं, फागुन २२ । संघीय सरकार बनाउन एक वर्षअघि बनेको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएसँगै परकम्प प्रदेशसम्म पुग्ने भएको छ । मूलतः संसद्को ठूलो दल कांग्रेस केन्द्रीय गठबन्धनबाट बाहिरिएपछि सबैजसो प्रदेशमा नयाँ सरकार गठनको कसरत हुने भएको छ ।

कोशीमा नयाँ गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । प्रदेशसभामा ९३ मध्ये एमाले ४०, माओवादी १३ र जसपा एक सिट भएकाले नयाँ सरकार बनाउन कठिन छैन । कोशीमा कांग्रेसका २९, राप्रपाका ६ र नेकपा एसका ४ सांसद छन ।

मधेशमा एमालेसँग २३, जसपासँग १८ र माओवादीसँग ९ सिट छ । यसरी १ सय ७ सदस्यीय प्रदेशसभामा यो गठबन्धनको ५० सिट मात्र पुग्छ । सरकार बनाउन यो गठबन्धनलाई थप चार सिट आवश्यक पर्नेछ । त्यसैले गठबन्धनलाई ७ सिट भएको एकीकृत समाजवादी १३ सिट भएको जनमत वा ९ सिट भएको लोसपामध्ये कम्तीमा कुनै एक दलको समर्थन आवश्यक पर्छ । मधेशमा स्वतन्त्र ३, संघीय समाजवादीको एक, नागरिक उन्मुक्तिका ३ सिट रहेको छ । मधेशमा कांग्रेसका २३ र राप्रपाको एक सिट छ ।

वाग्मतीमा अहिले माओवादी नेतृत्वको सरकार छ, जहाँ एमालेसँग २७ र माओवादीसँग २१ सिट छ । १ सय १० सदस्य रहेको वाग्मती प्रदेशसभामा बहुमतका ५६ सिट आवश्यक छ । त्यसैले गठबन्धनलाई एकीकृत समाजवादीले ७ सिट दिए पनि सरकार बनाउन गाह्रो हुन्छ । यहाँ नेमकिपा (३) र हाम्रो नेपाली पार्टी (२) सिट पनि आवश्यक पर्नेछ । वाग्मतीमा कांग्रेसको ३७ र राप्रपाको १३ सिट छ ।

त्यस्तै गण्डकीमा अहिले कांग्रेस सरकार छ । ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा सरकार बचाउन कांग्रेसलाई कुल ३१ सिट आवश्यक पर्छ । गण्डकीमा कांग्रेससँग २७ सिट छ भने एमालेका २२, माओवादीका ८ र एकीकृत समावादीका एक सांसद छन । यस्तै राप्रपाले दुई सिट रहेको छ ।

लुम्बिनीमा पनि कांग्रेस नेतृत्वको सरकार छ । यहाँ एमाले २९, माओवादी ११ र जसपा ३ मिलेर कुल ४३ सिटका साथ सरकारको नजिक पुग्न सक्छन । तर सरकार बनाउन ४४ सिट आवश्यक पर्छ । यहाँ जनमोर्चा र नेकपा एसको एक÷एक सिट छ । लुम्बिनीमा उन्मुक्ति पार्टीका ४, लोसपाका ३ सांसद छन् भने एक स्वतन्त्र छन ।

कर्णालीमा ४० सदस्यीय प्रदेशसभा छ । यो प्रदेशमा अहिले माओवादी नेतृत्वको सरकार छ । यो सरकार जोगाउन माओवादीका १३, एमालेका १० सांसद पर्याप्त हुन्छन । कर्णालीमा कांग्रेसका १४, राप्रपाका १, एसका १ र स्वतन्त्रका १ सांसद छन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि २७ सिट आवश्यक पर्छ । माओवादीको ११ र एमालेको १० सिट गरी २१ सिट छ । सरकार बनाउन त्यहाँ ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक हुन्छ ।

नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि समेटने गृहकार्य अघि बढेको छ । सोही योजनाअनुसार सोमवार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सो पार्टीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुग्नुभएको छ । केहीदिनदेखि बिरामी नेपाललाई भेटेर दाहालले स्वास्थ्यलाभको कामनासहित नयाँ गठबन्धन निर्माणको आवश्यकताबारे जानकारी दिई गठबन्धनमा सामेल गराउने बताउनुभएको छ ।

नेकपा एसप्रति निकै अछुतको ब्यवहार गर्दै आएको नेकपा एमाले पनि यसपटक लचिलो देखिएको छ । आफ्नै पार्टीबाट बिभाजित भएर गएको भएपनि नेकपा एस बामपन्थी दल रहेकोले गठबन्धनमा सामेल गर्न तयार भएको छ । एमाले महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि वर्तमान सत्ता गठबन्धनमा सामेल गराएर अघि बढ्ने प्रयास रहेको जानकारी दिनुभएको छ ।

‘अहिले चार दलबीच एउटा आधार बनेको छ । अब हामी गठबन्धनमा अरु दलहरूलाई पनि सामेल गर्ने विषयमा छलफल गर्दैछौँ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले नेकपा एकीकृत समाजवादी र लोसपासँग संवाद अगाडि बढाएका छौँ । गठबन्धनमा कुन कुन दल हुने भन्ने निश्चित भएपछि यो गठबन्धन सरकार नागरिकलाई सुशासन र डेलिभेरी दिनेमा केन्द्रीत हुन्छ ।’ उहाँले नयाँ गठबन्धनले जनतामा आशा जगाउने विश्वास पनि ब्यक्त गर्नुभयो ।