पोखरा, फाुन २२ । कांग्रेस सभापति शेरबहादुर देउवाले गण्डकीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बदला लिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ठाडो निर्देशन दिएर माओवादीका दुई मन्त्री बर्खास्त गरी देउवाले संघीय सरकारबाट कांग्रेस मन्त्रीलाई बर्खास्त गरेको बदला लिनुभएको हो ।
मुख्यमन्त्री पाण्डेले प्रधानमन्त्री प्रचण्डबाट सिको गरेर माओवादी मन्त्री बर्खास्त गरेको टिप्पणीसमेत गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारबाट कांग्रेसका मन्त्रीहरु हटाएपछि मुख्यमन्त्री पाण्डेले प्रदेशका माओवादी मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।
सङ्घमा सत्ता परिवर्तन भएसँगै त्यसको पहिलो असर गण्डकी प्रदेशमा देखिएको हो । माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा सहभागी माओवादी केन्द्रबाट आफ्नो सरकारमा सहभागी सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली बर्खास्त गर्नुभएको छ ।
मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत वैशाख १५ र जुग्जालीलाई वैशाख २९ गते मन्त्री नियुक्त गर्नुभएको थियो । केन्द्रमा सत्ता गठबन्धन फेरबदलको परकम्प प्रदेश सरकारमा पनि देखिन थालेको छ । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकी प्रदेशमा पनि फेरबदल सुरु भएको छ ।
मुख्यमन्त्री पाण्डेले केन्द्रमा जे भयो त्यही अनुसार नै आफूले निर्णय गरेको प्रतिक्रिया दिनुभयो । ‘गण्डकी सरकारमा दुई वटा पार्टी सरकारमा थिए । माओवादीका मन्त्रीलाई हटाएका हौँ,’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘माथि जे भएको यहाँ पनि त्यति गरेको हो ।’ मुख्यमन्त्री पाण्डेले प्रधानमन्त्रीकै सिको गरेको बताउनु भयो ।
‘उहाँ (प्रधानमन्त्री)ले जेजे सिकाउनुहुन्छ, मैले त्यहीत्यही गर्दै हिँडेको हुँ,’ पाण्डेको भनाई थियो । मुख्यमन्त्री पाण्डेले कांग्रस सभापति शेरबहादुर देउवाको निर्देशनमा माओवादीका मन्त्री बर्खास्त गर्नुभएको स्रोतले बताएको छ ।
‘सभापतिले तुरुन्त हटाइदेउ भनेपछि मुख्यमन्त्रीले मन्त्रीलाई नै थाह नदिइ बर्खास्त गर्नुभएको हो, माथिको कुरा माथि नै जानुन,’ गण्डकी कांग्रेस संसदीय दलका एक नेताले जनताटाइम्स डटकमको जिज्ञासामा भने । मुख्यमन्त्री पाण्डे यसरी हटाउने पक्षमा नरहे पनि सभापति देउवाको आदेश पालना गर्नभएको ती नेताको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्