काठमाडौं, फागुन २३ । मोरङको पथरीशनिश्चरे ७ मा सोमबार राति बिभत्स रुपमा फेला परेकी १५ वर्षीया किशोरीलाई उनकै प्रेमीले ज्यान लिएको तथ्य खुलेको छ ।
१५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका मोरङ ग्रामथानका ३८ वर्षीय धिरेन खाँ चौधरी पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो । प्रहरीले राईको हत्या आरोपमा चौधरीलाई पक्राउ गरेर मोरङ प्रहरीले मंगलवार सार्वजनिक गरेको हो।
अनुसन्धानको क्रममा आरोपी आफूभन्दा दोब्बरभन्दा धेरै कम उमेरले कान्छी किशोरीसित डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ । आरोपी बाराको जितपुर सिमरा उपमहानगरपालिकाका हुन । उनी अहिले मोरङ ग्रामथान गाउँपालिकामा बस्दै आएका थिए। हत्यापछि फरार बनेका उनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमबार राति २ बजे पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताउनु भयो ।
प्रहरीका अनुसार किशोरीको परिवारले चौधरीसँग विवाह नगरिदिने बुझेपछि हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन । स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत ज्ञानमति मामाका छोरा विनोद राईको घरमा बसेर पढिरहेकी थिइन । दाइले चलाएको खाजा घरमा सहयोग गर्दै, पढ्दै आएकी उनलाई आरोपीले बिहेका लागि दबाब दिइरहेको र परिवारले नमानेको प्रहरीको भनाइ छ ।
सोमबार राति घरकै शौचालय जाने क्रममा उनीमाथि धारिलो हतियार प्रहार गरी घटनास्थलमै ज्यान लिइएको प्रहरीले जनाएको छ । विवाहित चौधरीकी पत्नी चार वर्षदेखि वैदेशिक रोजगारीमा बाहिर रहेको र सामाजिक सन्जालमार्फत ज्ञानमतिसँग नजिकिएको प्रहरीको भनाइ छ । पक्राउ परेका चौधरीको १४ वर्षका छोरा छन । घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जनाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्