जनता टाइम्स

२३ फाल्गुन २०८०, बुधबार १३:५७

रास्वपाले टुंग्यायो मन्त्रीको नाम, गृह मन्त्रालय रबि लामिछाने आफैले सम्हाल्ने


काठमाडौं, फागुन २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने गृहको नेतृत्वसहित सरकारमा जाने हुनुभएको छ । रास्वपाले आफ्नो भागमा परेका गृहसहित तीन मन्त्रालयमा मन्त्रीको नामसमेत टुंगो लगाएको हो ।

जसअनुसार रास्वपा अध्यक्ष लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने हुनुभएको छ । आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा र शिक्षा मन्त्रालय दिने सहमति बनेको थियो । सोही सहमतिअनुसार रविले गृहको नेतृत्व गर्नुहुनेछ ।

यस्तै डीपी अर्याल श्रम मन्त्री र शिक्षामन्त्रीमा सुमना श्रेष्ठलाई पठाउने भएको छ । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । एक वर्षअघि पनि उहाँ श्रममन्त्री बन्नुभएको थियो । रास्वपाले ४ मन्त्रालयमा दाबी गरेको थियो । तर, नेकपा एसलाई पनि समेट्नुपर्ने भएकाले अहिले ३ मन्त्रालय पाएको सहमति भएको हो ।

सत्ता गठबन्धनले आज मन्त्रालयको भागबन्डामा सहमति गरेको थियो । सहमतिअनुसार नेकपा माओवादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री उपमहासचिव वर्षमान पुन बन्ने हुनुभएको छ । गठबन्धनको सवैभन्दा ठूलो दल नेकपा एमलोले भने दुवै महत्वपूर्ण मन्त्रालय नलिएर अन्तै चित्त बुझाएको छ । एमालेबाट सचिव रघुवीर महासेठले नेतृत्व गर्ने भएपछि एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिएको छ ।