जनता टाइम्स

२३ फाल्गुन २०८०, बुधबार १९:४७

गठबन्धन भत्काउने कांग्रेसको प्रयास सफल हुँदैन, अप्रत्याशित हट्नुपर्दाको छटपटाहट मात्र : प्रदीप ज्ञवाली


काठमाडौं, २३ फागुन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली कांग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गर्नुभएको छ । उपमहासचिव ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने कांग्रेसको प्रयास उचित नभएको पनि बताउनुभयो । सरकारबाट हट्न नपाउँदै जोजो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रस्ताव गर्दै हिँड्ने काम काँग्रेसले गरिरहेको उल्लेख गर्दै त्यो सत्ताबाट अप्रत्याशित रुपमा हट्नुपर्दा छटपटाहट मात्रै भएको उहाँले बताउनुभयो ।

आज पार्टी मुख्यालय च्यासलमा कुरा गर्दै उहाँले कांग्रेस जिम्मेवार पार्टीको रुपमा भन्दा पनि प्रतिशोधको भावनाबाट चल्न खोजेको आरोप लगाउनुभयो। कांग्रेसले समानान्तर गठबन्धनको प्रयास गरिरहेका बेला उपमहासचिव ज्ञवालीले काँग्रेसलाई प्रतिपक्षमा रहेर सरकारको गतिविधिलाई ‘पर्ख र हेर’को नीति लिन सुझाव दिनुभयो । उहाँले जनतामा छाएको निराशा र मुलुकको व्यवस्थामा आएको संकटलाई पार लगाउन पनि आफ्नो पार्टीले नयाँ गठबन्धनलाई पूरै कार्यकाल टिकाउन हरसम्भव प्रयास गर्ने पनि स्पष्ट पार्नुभयो ।

अब यो विकल्प पनि कम भएको र प्रणाली समेत जोखिममा परेको कुरालाई ध्यानमा राखेर राजनीतिक दलहरुले पनि नयाँ सत्तारुढ गठबन्धनलाई टिकाउन काम गर्नेपर्ने उपमहासचिव ज्ञवालीको तर्क थियो। उहाँले गएको १४ महिना कांग्रेस प्रमुख दल रहेको गठबन्धन सरकारले मुलुकमा केही पनि गर्न नसकेको जिकिर गर्दै जनतामा छाएको निराशा र व्यवस्थामाथि आएको संकट समाधान हुने गरी सरकारको काम केन्द्रित हुने पनि बताउनुभयो ।