जनता टाइम्स

२४ फाल्गुन २०८०, बिहीबार १४:४६

कांग्रेसमा ठूलो पीडा-छटपटी र बेचैनी देखिएको छ, व्यक्त गर्न आवश्यक थिएन : विष्णु पौडेल


काठमाडौं, २४ फागुन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संविधानको मर्म अनुसार नै अहिले गठबन्धन परिवर्तन भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उहाँले गठबन्धन परिवर्तन भएर सरकार पुनर्गठन भएकोप्रति नेपाली कांग्रेसमा निकै ठूलो पीडा र छटपटी देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यतिबेला नेपाली कांग्रेसमा ठूलो पीडा, छटपटी र बेचैनी देखिएको छ । उहाँहरूमा एकखालको आवेग जस्तो कि सरकारबाट अप्रत्याशित रूपमा हट्नु परेपछि त्यो देखिन्छ। कांग्रेसले व्यक्त गर्न आवश्यक थिएन ।’

दलहरुका बीचमा सहकार्य हुन्छ, दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्छन् भनेर संविधानले नै प्रबन्ध गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो,‘गठबन्धन बनाउन पाइन्छ तर नेपाली कांग्रेससँग मात्र भनेर लेख्नु पर्यो नि संविधानमा ।’