जनता टाइम्स

२५ फाल्गुन २०८०, शुक्रबार १५:०५

कांग्रेसको पक्षमा सतिसाल बनेर खडा भए कम्युनिष्ट चित्रबहादुर


काठमाडौं, फागुन २५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेन गल्ती नगर्ने बताउनु भएको छ ।

कम्युनिष्ट नेता केसीले नेपाली कांग्रेसकै नेतृत्वमा सत्ता गठबन्धन कायम रहिरनुपर्ने पक्षमा आफूहरु रहेको भन्दै कांगे्रेसको पक्षमा सतिसाल बनेर खडा हुनुभएको हो । नेता केसीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अराजकता बढाएको आरोप पनि लगाउनु भयो ।

जनमोर्चा कांग्रेस नेतृत्वको गठबन्धनको सुरुआतदेखि नै सहयात्री दल हो । केसीले प्रधानमन्त्री दाहालले कांग्रेसको नेतृत्व नमानेकोले प्रतिगमतनको खतरा अहिले पनि रहेको र प्रचण्डले सत्ता र शक्तिको लागि एमालेसँग काँध मिलाएको आरोप लगाउनु भयो ।

प्रचण्डले सत्ता समीकरण फेर्नु राजनीतिक अराजकता हो,’ केसीले भन्नुभयो । केसीले अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठिरहेको बताउँदै अहिले पनि कांग्रेस नेतृत्वको पुरानो गठबन्धनको आवश्यकता भएको जिकिर गर्नुभयो । जवकी केसीकै दल संबिधानबिरोधी अभियानमा छ ।

केसीले प्रचण्डले सत्ता समीकरण फेरेपछि आफूहरु समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको जानकारी पनि दिनुभयो । त्यसो त कांग्रेस नेतृत्वको गठबन्धन हुँदा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यमा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति बनेको थियो ।

पौडेल प्यूठानबाट गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार हुँदा नेकपा एमालेका सूर्य थापासँग पराजित हुनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार नेपाली कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाउनु भएको थियो । नयाँ समीकरणपछि २० सदस्यीय मन्त्रिपरिषद पुनर्गठनसमेत भइसकेको छ ।