काठमाडौं, फागुन २६ । स्थानीय तहमा उपचुनाव गराउन सरकार उदासीन देखिएको छ । सरकारको उदासीनताका कारण स्थानीय तहका एक पालिका प्रमुखसहित तीन उपप्रमुख, एक जिल्ला समन्वय समिति प्रमुख र २१ वडाध्यक्ष गरी २६ पदमा चुनाव अनिश्चित बनेको हो ।
स्थानीय तहका २६ पद रिक्त पदमध्ये कांग्रेसका १५, एमालेका ६, माओवादी ४ र स्वतन्त्र एक छन् । स्थानीय तहका रिक्त भएकामध्ये अधिकांश कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएपछि उक्त पद रिक्त छ । कांग्रेसबाट निर्वाचित कलेलको २०७९ पुस २३ मा निधन भएको थियो ।
यस्तै कांग्रेसबाटै निर्वाचित दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको पनि गत वर्ष माघ २७ मा गुरुङको निधन भएपछि महाबु गाउँपालिका नेतृत्वविहीन अवस्थामा छ । यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट निर्वाचित श्यामसुन्दर तामाङको निधन भएको छ । गत असार ३१ मा हृदयाघातका कारण तामाङको निधन भएपछि पद रिक्त छ ।
यस्तै कात्तिक १७ गते गएको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भयो । सिंह कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । यस्तै माघ ३ मा बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको थियो । मृतक जोशी पनि कांग्रेसबाट निर्वाचित हुनुहुन्थ्यो ।
यस्तै डोटीको पूर्वाचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधनपछि पद रिक्त छ । गत वर्ष मंसिरमा जोशीको निधन भएको थियो । गुल्मीको मुसिकोट नगरपालिका– १ का वडाध्यक्ष मोहन घिमिरेको निधन भएपछि उक्त पद पनि रिक्त छ । गत भदौ २ गते झुण्डिएको अवस्थामा घिमिरे मृत फेला परेका थिए ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुनको असार २७ गते, ककनी गाउँपालिका–२ का वडाध्यक्ष तिलकबहादुर लामाको गत जेठ ३१ गते, रौतहटको राजपुर नगरपालिका–६ का वडाध्यक्ष शेख मोजरे आलमको निधन भएर तथा उदयपुरको त्रियुगा नगरपालिका–१२ का वडाध्यक्ष चुडाराज काफ्लेको गत वर्ष फागुन १४ मा सवारी दुर्घटनामा परी निधन भएर उक्त पद रिक्त छ । यी सबै कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि हुनुहुन्थ्यो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा वडाध्यक्ष पद रिक्त छ । वडाध्यक्षमा निर्वाचित कांग्रेसका सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति सभापति भएपछि वडाध्यक्षको पद खाली रहेको हो । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते निधन भएको छ । उहाँ पनि नेपाली कांग्रेसबाटै निर्वाचित हुनुहुन्थ्यो ।
असोज १४ गते सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिका— ४ का वडाध्यक्ष हरिप्रसाद राय अमातको निधन भएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उहाँ निर्वाचित हुनुभएको थियो । फागुन २३ मा काठमाडौंको कीर्तिपुर नगरपालिका—१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । महर्जन २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
यस्तै नेकपा एमालेबाट निर्वाचित ६ जना वडाध्यक्षको पद रिक्त छ । गत वर्ष कात्तिक ११ गते एमालेबाट निर्वाचित गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको थियो । यस्तै गत जेठ २५ गते बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष सर्जन बोहराको निधनले पद रिक्त भएको छ । उता सुनसरीको गढी गाउँपालिका–६ का वडाध्यक्षको पद पनि रिक्त छ । त्यहाँ एमालेबाट सदानन्द उराँव झागर निर्वाचित हुनुभएको थियो ।
निर्वाचन आयोगले पद रिक्तबारे भने केही खुलाएको छैन । रौतहटको ईशनाथ नगरपालिका–७ मा पनि वडाध्यक्षको पद रिक्त छ । गत निर्वाचनमा यहाँ एमालेका शेख खलीउल्लाह वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यस्तै गत माघ २२ गते दैलेखको दुल्लु नगरपालिका–१३ का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएपछि पद रिक्त छ ।
यही फागुन १० गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका — ५ का वडाध्यक्ष नन्दलाल रोकायाको निधन भएको छ । उहाँ एमालेबाट निर्वाचित हुनुभएको थियो । माओवादी केन्द्रबाट निर्वाचित जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको असार ४ गते निधन भएर तथा दार्चुलाको दुहुँ गाउँपालिका–५ का वडाध्यक्षको मनोरथ भट्टको पनि निधन भएर पद रिक्त छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पद रिक्त छ । माओवादीबाट निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समितिको सभापति बनेपछि वडाध्यक्ष पद रिक्त भएको हो । कालिकोटको तिलगुफा नगरपालिका–४ का वडाध्यक्षको परबहादुर शाहीको गत वर्ष असोजमा निधन भएको थियो । मलामी गएका बेला पहिरोले पुरिएर वडाध्यक्ष शाहीसहित १३ जना बेपत्ता भएका थिए । बेपत्ता भएका उनीहरू मृत भेटिएका थिए ।
यस्तै, काठमाडौँको कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । गत वैशाख १० गते मोटरसाइकल दुर्घटनामा गरी अधिकारीको निधन भएको हो । अधिकारी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको थियो । निर्वाचन आयोग यसरी पद रिक्त भएका ठाउँमा कहिले निर्वाचन हुन्छ भन्नेमा आफै अनविज्ञ छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहका रिक्त पदको उपनिर्वाचन तत्काल हुने संकेत नदिएको बताउनु हुन्छ ।
प्रतिनिधि र प्रदेशको उपनिर्वाचन आगामी वैशाख १५ का लागि तोकिए पनि स्थानीय तहको उपनिर्वाचनको कुनै टुंगो नभएको थपलियाको बताउनु हुन्छ । उहाँले सरकार तयार नभएको कारण आयोगले प्रतिनिधि र प्रदेशसभा उपनिर्वाचनको मिति तोकेको हो ।
स्थानीय तहको चुनावको मिति भने सरकारले तोक्नुपर्छ । यसअघि गत वैशाख १० मा प्रतिनिधिसभा रिक्त तीन सिटमा उपचुनाव गराउँदा पनि स्थानीय तहको रिक्त (तत्कालीन ९) पदका लागि उपचुनाव भएको थिएन । सोही नजरलाई आधार बनाएर सरकार स्थानीय तहको उपनिर्वाचन नगराउने योजनामा लागेको आयोगको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्