जनता टाइम्स

२६ फाल्गुन २०८०, शनिबार १५:२१

मुख्यमन्त्री शाहले लगाइ दिए घर झगडा, रञ्जीता निकटलाई हटाएर रेशम निकटलाई मन्त्री बनाएपछि चर्कियो लफडा


सुदुरशपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका बैधानिक अध्यक्ष रञ्जीता श्रेष्ठ र अबैधानिक अध्यक्ष रेशमलाल चौधरीबीच झगडा पारिदिनुभएको छ । रञ्जीता निकटलाई हटाएर रेशम निकटलाई मन्त्री बनाएपछि पति पत्नीबीचमै लफडा चर्किएको छ ।

काठमाडौं, फागुन २६ । अल्पमतमा परेका सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले तीन जना मन्त्री थप्नुभएको छ ।

आफ्नै पाटीृ नेपाली कांग्रेस नेतृत्वको पुरानो सत्ता गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका शाहले आफू अल्पमतमा परेपछि पनि शुक्रबार राति नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसदलाई मन्त्री बनाएर मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रीसहित खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री र इन्द्र गिरीलाई कृषि राज्यमन्त्री बनाउनु भएको हो ।

केन्द्रमा गठबन्धन फेरिएपछि मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीलाई हटाएर नागरिक उन्मुक्ति पार्टीका सांसदलाई मन्त्री बनाउनुभएको हो । ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्दछ । वर्तमान मुख्यमन्त्री शाहसँग नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात जोड्दा २५ जनाको मात्रै समर्थन पुग्दछ । उहाँलाई अझै दुई जना सांसदको समर्थन पुग्दैन । त्यसको लागि राप्रपाका एक र स्वतन्त्र एक सांसदलाई मन्त्री पद दिएर आफ्नो पक्षमा ल्याउन शाहले प्रयत्न गरिरहनु भएको छ । तर त्यो प्रयाश हालसम्म सम्भव हुन सकेको छैन ।

सुदूरपश्चिममा नयाँ बनेको सत्ता गठबन्धनलाई पनि नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थामा राप्रपा र स्वतन्त्र सांसदको समर्थन बिना बहुमत पुग्दैन । नयाँ सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रसँग ११, एमालेसँग १० र एकीकृत समाजवादी पार्टीसँग चार जना सांसद छन् । नयाँ गठबन्धनलाई पनि राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद् ताराप्रसाद जोशीले समर्थन गरेको अवस्थामा मात्रै बहुमत पुग्छ ।

त्यसो त मुख्यमन्त्री शाहको सरकारमा मन्त्री पठाएको विषलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्रै विवाद चुलिएको छ । पार्टीको महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र उहाँकी पत्नी रञ्जीता श्रेष्ठ चौधरीबीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्ने विवादमा उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले रेशम चौधरीलाई पार्टी अध्यक्षमा मान्यता नदिएर रञ्जितालाई नै पार्टी अध्यक्षको मान्यता दिएपछि शक्ति सन्तुलनको हिसाबले रेशमभन्दा रञ्जिता अगाडि हुनुहुन्छ । पार्टीको निर्णायक अधिकार उहाँको हातमा पुगेको छ ।

पार्टी अध्यक्ष रञ्जिताले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिनु भनी निर्देशन दिएका बेला रेशमले शुक्रबार मध्यराती आफ्ना समर्थक तीन जनालाई शाहकै सरकारमा मन्त्री र राज्यमन्त्रीको शपथ खुवाएपछि पार्टीभित्र विवाद चुलिएको हो । रञ्जिता निकट मानिएका कैलाश चौधरीलाई मुख्यमन्त्रीले राज्यमन्त्रीबाट पनि हटाएपछि उहाँ थप असन्तुष्ट बन्नुभएको छ । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका पूर्वनेता समेत रहनुभएका पार्टीमा सिनियर नेता लक्ष्मणकिशोर चौधरीलाई बाहिरै राखिएको छ ।

त्यस्तै कैलाश चौधरी र टीका थापालाई पनि बाइपास गरिएको छ । लक्ष्मणकिशोर र कैलाश रञ्जिताका नजिकका सांसद् हुनुहुन्छ । रञ्जीता नयाँ गठबन्धनमा जाने र प्रदेशमा मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडानमा हुनुहुन्छ । रञ्जिताले सरकामा जाने विषयमा पार्टीमा कुनै सल्लाह नभएको जानकारी दिइसक्नु भएको छ । उहाँले पार्टीको निर्णयबिना सरकारमा जाने मन्त्रीलाई कारबाही गर्ने चेतावनीसमेत दिनुभएको छ । यसले मुख्यमन्त्री शाहमाथि संकटमा पर्नुभएको छ ।