जनता टाइम्स

२६ फाल्गुन २०८०, शनिबार १५:४२

माओवादी त्यागेर दुई गाउँपालिका कमिटी अध्यक्ष एमाले प्रवेश, सुनाए एमालेकै नेतृत्वमा कम्युनिष्ट एकता अनिवार्य भएको निश्कर्ष


गुल्मी, फागुन २६ । नेकपा माओवादी केन्द्रका दुई गाउँपालिका कमिटीका अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन । केन्द्रमा सत्ता समीकरण गरी एउटै मोर्चा बनाएकै बेला गुल्मीका दुई पालिकाका अध्यक्षले एमाले रोजेका हुन ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल गुल्मी आएको मौका पारी ती अध्यक्ष एमाले प्रवेश गरेका हुन । यसरी एमाले प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी हुनुहुन्छ । खरेल र केसी आजबाट सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उदघाटन समारोहमा एमाले प्रवेश गर्नुभएको हो ।

कार्यक्रममा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष बादल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, एमाले गुल्मी इञ्चार्ज सूर्य थापालगायतका नेताहरुले एमालेमा स्वागत गर्नुभयो । एमालेमा प्रवेश गरेपछि दुवै नेताले कम्युनिष्ट शक्ति एक हुनुपर्छ भन्ने निश्कर्षसहित दवाव दिन एमालेमा प्रवेश गरेको बताउनु भयो ।

केन्द्रमा कम्युनिष्ट नेताहरु मिल्ने र फुट्ने प्रवृत्तिले गर्दा कार्यकर्तामा उत्साह घटदै गएकाले एकजुट हुनुपर्छ भन्ने मान्यताका साथ माओवादी छाडेर एमाले रोजेको खरेल र केसीको भनाई छ । अध्यक्षद्वय एमाले प्रवेश गरेसँगै दुवै पालिकाका माओवादीका नेता कार्यकर्ताहरु समेत एमालेतिर आएको गुल्मीमै रहेका प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

‘दुवै जना कमरेडहरु सिंगो टीमसहित एमाले प्रवेश गर्नुभएको छ, उहाँहरुको प्रवेशले मुसिकोट र चन्द्रकोट दुवै गाउँ पालिकामा एमाले निकै मजबुत बनेको छ,’ जनताटाइम्स डटकमसँग अर्यालले भन्नुभयो । नवप्रवेसी नेताद्वयले एमालेको नेतृत्वमा सवै कम्युनिष्ट पार्टी एकजुट हुनुको बिकल्प नभएको भन्दै समयमै यो काम अघि बढाउन सवै कम्युनिष्ट नेताहरुलाई अपिल समेत गर्नुभएको छ ।

अर्यालका अनुसार दुवै नेताले एमालेकै नेतृत्वमा कम्युनिष्ट एकता अनिवार्य भएको र माओवादी पनि ढिलोचाँडो एमालेको नेतृत्व स्वीकार गरेर एकतामा आउनै पर्ने निश्कर्ष निकालेर दुवै नेता पवेश गर्नुभएको हो ।