जनता टाइम्स

२७ फाल्गुन २०८०, आईतवार ०८:२९

आदीबासी जनजातीको पहिचान एमालेले नै दिएको हो, अहिलेका पहिचानवादी ढोंगी हुन : पासाङ शेर्पा


तुलसीप्रसाद कोइराला/उदयपुर । नेकपा एमालेको केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिबासी जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पाले आदिबासी जनजातीहरुको पहिचान नेकपा दिलाएको प्रष्ट पार्नुभएको छ ।

उदयपुरको गाईघाट शनिवार आयोजित लोकतान्त्रिक आदिबासी जनजाती महासंघ उदयपुर जिल्ला समितिको दोश्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका शेर्पाले यस्तो बताउनु भएको हो । उहाँले अहिले पहिचानवादीहरले गरेको आन्दोलन मिथ्याको आन्दोलन भएको ठोकुवा पनि गर्नुभयो ।

नेकपा एमालेका नेता अमृतकुमार बोहरा स्थानीय विकास मन्त्री भएको समयमा आदिवासी जनजातीको पहिचान दिलाउनका लागि आयोग गठन गरेर आदिबासी जनजातीहरुको सुचिकरण गरेको तर अहिले आएर अनेक प्रकारका आरोप एमालेमाथि नै थोपरेर पहिचान विरोधीको आक्षेप लगाउन काम भएको बताउनु भयो ।

पहिचानवादीहरुले लगाएको आरोपमा सत्यता नभएको र नेपाली कांग्रेस। माओवादी लगायतका दलहरुले सो कुरा विर्सेर एमाले उपर दोषारोपण गरेर इतिहास र एमालेले गरेको कामलाई छायाँमा पार्ज खोजेको बताउनु भयो ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा उदयपुर इन्चार्ज पर्शुराम मेघी गुरुङले नेकपा एमालेले आदिबासी जनजातीका पक्षमा धेरै राम्रा काम गरेको र देशका आदिबासी जनजातीहरको उत्थानका लागि निरन्तर लागि रहेकोले पहिचानबादीहरुले गलत प्रचार प्रसार गरेर नेकपा एमालेलाई बदनाम गराउन खोजेको बताउनु भयो ।

अधिवेशन उद्घाटन समारोहमा एमाले केन्द्रीय सदस्य अम्बिका थापा, कोशी प्रदेश सदस्य इश्वरमणी राउत, प्रकाश बस्नेत, देवराज राई, एमाले जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरे लगायतले आफ्नो धारणा राख्नुभएको थियो । आदिबासी जनजाती महासंघ उदयपुरका अध्यक्ष धर्मबहादुर तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा उदयपुर जिल्लाका ८ वटै पालिकाका करीब ५ सय प्रतिनिधि सहभागि भएका थिए ।