जनता टाइम्स

२७ फाल्गुन २०८०, आईतवार १९:४०

सुध्रिएनन प्रधानमन्त्री प्रचण्ड, निर्वाचित सांसदलाई लात हानेर राष्ट्रपतिबाट मनोनीत भाइलाई बनाए राष्ट्रियसभा अध्यक्षको उम्मेद्वार


काठमाडौं, फागुन २७ । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहाल प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ हुनुहुन्छ । उहाँ राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालका भाई नारायण ०७८ सालमा राष्ट्रिय सभा सदस्य मनोनित हुनुभएो थियो । राष्ट्रिय सभाको अध्यक्षमा दाहालसँगै अहिले उपाध्यक्ष रहनु भएकी उर्मिला अर्याल र झक्कु सुवेदी आकांक्षी हुनुहुन्थ्यो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालकै निर्देशनपछि महिला नेतृ अर्यालले अध्यक्षका लागि दावेदारी पेश गर्दै उपाध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । तर दाहालले नेतृ अर्याललाई लात हानेर भाईलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय लिनुभएको हो ।

सत्तारुढ ५ दलहरुबीच राष्ट्रियसभा अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई मतदान गर्ने सहमति भइसकेको छ । दलहरुबीच सहमति भएसँगै प्रधानमन्त्री दाहालले राष्ट्रपतिबाट मनोनीत भएका भए पनि भाइ नारायणलाई अध्यक्ष बनाउने निर्णय लिनुभएको हो । दाहालकै प्रस्तावपछि पदाधिकारी बैठकले नाम अनुमोदन गरेको हो । नेपाली कांग्रेसले राष्ट्रिय सभा सांसद युवराज शर्मालाई उठाउने निर्णय गरिसकेको छ ।

गठबन्धन कायम रहनुअघि कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने बताएको कांग्रेसले प्रधानमन्त्रीले गठबन्धन तोडेसँगै सिटौलालाई दलको नेता बनाएरु शर्मालाई उम्मेदवार बनाएको हो । राष्ट्रिय सभाको निर्वाचन फागुन २९ गते मंगलवार हुँदैछ ।