गणेश बस्नेत/काठमाडौं। नेपाली कम्युनिष्ट आन्दोलनका हस्ती प्रदीप नेपालले नेकपा एमालेको संगठित सदस्यता नविकरण गर्नुभएको छ । पूर्वसञ्चारमन्त्री समेत रहनुभएका नेता नेपालले आज एमालेको संगठित सदस्यता नविकरण गर्नुभएको हो ।
एमाले संगठन बिभागका प्रमुख काशीनाथ अधिकारीले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारी नेता नेपालले एमालेकै संगठित सदस्य रहेको भन्दै नविकरण गर्ने जानकारी दिनुभएको थियो । संगठन बिभाग पमुख अधिकारी आज बरिष्ठ नेता नेपाललाई भेटन उहाँकै निवास गोठाटार जानुभएको थियो । सो क्रममा नेता नेपालले सदस्यता आफू एमालेको सदस्य कायम रहेको भन्दै नविकरण गर्ने जनाउ दिनुभएको हो ।
‘मेरो पनि नेता भएकोले उहाँलाई भेटन गएको थिएँ, उहाँले संगठित सदस्यता एमालेमै रहेको र नविकरण गरिदिन भन्नुभयो, दिउसो सहयोगी पठाएर सदस्यता नविकरण गर्नुभएको छ,’ अधिकारीले भन्नुभयो ।
नेता नेपालले सुरुवाती चरणदेखि नै आफूलाई राजनीतिक यात्रामा सघाउँदै आउनु भएका भान्जा सुरेश निरौलालाई पार्टी सदस्यता नविकरणका लागि पार्टी कार्यालय पठाउनु भएको थियो । निरौलाले दशौं महाधिवेशनयताको बाँकी शुल्क तिरेर नविकरण गर्नुभएको हो । ‘महाधिवेशनपछि बाँकी रहेको शुल्क तिरेर प्रदीप कमरेडको पार्टी सदस्यता नविकरण भएको छ,’ निरौलाले भन्नुभयो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहनुभएका नेता नेपाल एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक अध्यक्षको उम्मेदवार बन्दा उहाँकै टीमबाट महासचिवको उम्मेदवार भई पराजीत हुनुभएको थियो । अध्यक्ष ओली दोस्रो पटक अध्यक्षको चुनाव लडेर माधव नेपाललाई पराजीत गर्दा पनि नेता नेपाल उपाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । तर पराजीत हुनुभयो । त्यसपछि स्वास्थ्यको कारण पार्टी काममा सक्रियता केही कम गर्नुभएका नेपालले नेकपा एमाले बिभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरिदिनु भएको थियो ।
घरमै आउनुभएका माधवको आग्रहमा सनाखत गरेपनि नेपाल सो पार्टीको कुनै पनि बैठक र छलफलमा सहभागी हुनुभएन । जनताको बहुदलीय जनवादको पक्षमा दृढ उभिदै आउनु भएका नेता नेपाल सो पार्टीमा संस्थापक केन्द्रीय सदस्यको हैसियतमा राखेपनि ‘माधव नेपालका लागि अन्तिम सहयोग’ मात्र गरेको भन्दै नेकपा एकीकृत समाजवादीमा जानुभएन । नेपालले आज एमालेको आफ्नो सदस्यता नविकरण गराउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्