जनता टाइम्स

२८ फाल्गुन २०८०, सोमबार १९:२३

सरकारको पक्षमा दृढतापुर्वक उभिन नेता–कार्यकर्तालाई रास्पवाले दियो निर्देशन, इलाम–२ मा आफ्नै उम्मेद्वार उठाउने निर्णय


काठमाडौं, फागुन २८ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेका उपाध्यक्ष एवं संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको इलाम २ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ।

काठमाडौंमा आज बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । प्रदेश सभाका लागि बझाङमा हुने निर्वाचनमा भने भाग नलिने निर्णय रास्वपाले गरेको छ । उपनिर्वाचनमा कुनै पनि दलसँग गठबन्धन र सहकार्य नगर्ने निर्णय बैठकले गरेको छ। नेम्वाङको निधनपछि रिक्त इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

इलाम २ मा रास्वपाबाट उम्मेदवार बन्ने भन्दै नेकपा माओवादी निकट पत्रकार प्रेस सेन्टरको केन्द्रीय समितिमा रहेका पत्रकार मिलन लिम्बु यसअघि नै स्वतन्त्रको नाटक गरी इलामतिर लागिसक्नु भएको छ । आफूले जित्ने दावीसहित पत्रकार लिम्बु एमाले र माओवादी नेतृत्वबिरुद्ध तथानाम गाली गर्दै अन्तर्वार्ता दिएर हिडेपछि जितिन्त कि क्या हो भन्दै लिम्बुलाई नै उम्मेदवारी बनाउने रास्वपाको तयारी छ । यद्यपी सो कामका लागि सुरुमा स्वतन्त्र भन्दै प्रचारवाजी गर्ने नीति लिएको छ ।

रास्वपा त्यस्तै बैठकले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गरेको छ भने पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई सहयोग गर्दै अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरिएको महामन्त्री ढकालले बताउनु भयो ।

महामन्त्री ढकालले सरकारको कार्यसम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा सरकार, संसद र संगठनमा सल्लाहका आधारमा सहयोगी टिमहरू गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरिएको जानकारी पनि दिनुभयो । ढकालका अनुसार बैठकले सरकारको पक्षमा दृढतापुर्वक उभिन पार्टीपङतीलाई निर्देशनसमेत दिएको छ ।