जनता टाइम्स

२९ फाल्गुन २०८०, मंगलवार १०:१७

परराष्ट्र मन्त्रालयले सुन्दै सुनेन रुसी सेनामा भर्ना भएका नेपाली युवाको उद्धार याचना, भारत सरकारसँग मागे गुहार


काठमाडौं, फागुन २९ । रुसी सेनामा भर्ना भएका चार युवाले उद्धारका लागि सरकारसँग सहयोग माग्दा नपाएको गुनासो गरेका छन । रुसी सेनामा भर्ती भएका दाङका सञ्जय बुढामगर, ओखलढुंगाका राम खत्री, इलामका सन्तोष केरुङ र गोरखाका कुमार श्रेष्ठले उद्धारका लागि दुई महिनादेखि नेपाल सरकारसँग गुहार माग्दा सहयोग नपाएको गुनासो गरेका हुन ।

उनीहरुले आफूहरु ३० जनाको समूह रहेकोमा अब पाँच जना मात्रै बाँकी रहेको जानकारीसमेत दिएका छन । तर दूरदराजबाट याचना गर्ने यी युवा मात्र होइन, परराष्ट्र मन्त्रालय नै धाएर परिवारजनले ताकेता गर्दा पनि नेपाल सरकारले उद्धारमा खास पहल गरेको छैन । फागुन २१ गतेसम्म परराष्ट्र मन्त्री रहनुभएका नेपाली कांग्रेसका नेता एनपी साउद घुमघाममा ब्यस्थ रहेर गैरआवासीय नेपाली संघको एउटा पैसावाल पक्षको सेवामा लिप्त रहँदा उद्धारको याचना गरिरहेका नेपाली युवाहरुको याचनालाई कुनै चासो नदिइएको हो ।

रुसी सेनामा भर्ना भएको भन्दै परराष्ट्र मन्त्रालयस्थित कन्सुलर विभागमा उपस्थित भएर परिवारले दिएको विवरणअनुसार ९७ जना सम्पर्कविहीन छन । त्यसैगरी सरकारले संकलन गरेको तथ्यांकअनुसार १३ जना नेपाली घाइते अवस्थामा छन भने ८८ जनाले उद्धारका लागि परिवारमार्फत गुहार मागेका छन । यस्तै युद्धको क्रममा सात जना युक्रेनी सेनाको नियन्त्रणमा छन ।

नेपाल सरकारबाट कुनै सहयोग नपाएको भन्दै चार युवाले भारत सरकारलाई सम्बोधन गरेर सन्देश जारी गरेका छन् । ‘हामीसँगै तीन जना भारतीय पनि थिए, तर उनीहरूलाई भारतले फिर्ता लग्यो । तर हाम्रो नेपाली दूतावासले हामीलाई केही पनि सहयोग गरेन, नेपालबाट केही पनि भइरहेको छैन, त्यसैले पनि हामी छिमेकी भारतसँग मद्दत माग्न परिरहेको छ,’ भिडियोमा दाङका सञ्जय बुढामगरले भन्नुभएको छ, ‘हामीलाई बहुत आशा छ, इन्डियाले हामीलाई मद्दत गर्नेछ, निराश बनाउने छैन ।’

रुसी सेनामा भर्ती भई युक्रेनसँग आमुन्नेसामुन्ने नै लड्न जानुपर्ने अवस्था बाहिरिएदेखि नै नेपालीहरू फिर्ता हुन चाहेका थिए । रुसी सेनामा भर्ती भइसकेपछि फर्किन इच्छुक नेपालीलाई रुसले फिर्ता पठाएको छैन । त्यसैगरी इन्डिया टुडेले प्रकाशित गरेको अर्को भिडियोमा उपेन, धन, खिल र मदन नाम बताउने पाँच जना नेपाली युवाले पनि आफूहरू युक्रेनसँगको युद्धमा जाने क्रममा बाटोमा बंकरमा लुकेर बसेको बताएका छन् । उनीहरूले ‘युद्धका क्रममा के हुन्छ, कसो हुन्छ थाहा छैन’ भन्दै उक्त भिडियो सम्झनाका लागि बनाएको उल्लेख गरेका छन ।

रुसी सेनामा भर्ती भएका नेपालीहरूका अनुसार कम्तीमा दुई हजार नेपाली भर्ती भएका छन् । तीमध्ये धेरैजसो बेपत्ता भइसकेका छन् । ‘हाम्रो समूहमा २९ जना थियो । चार महिना रेडजोनबाट फर्किंदा अहिले ७ जना मात्रै छौं । बाँकी साथीहरू सम्पर्कविहीन छन,’ राकेश लामाले भन्नुभयो । त्यस्तै अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै परिवारले क्षतिपूर्तिका लागि सरकारलाई निवेदन दिएका छन । मृतकका परिवारलाई क्षतिपूर्तिका विषयमा रुससँग सामान्य समझदारी भए पनि जीवित युवाको उद्धारको पहलले कुनै आकार लिएको छैन ।

युक्रेनको याकोलिप्कास्थित रेडजोनबाट दुई दिनको आरामका लागि आएका दैलेखका चन्द्रबहादुर रानाले युद्धमा फसेका सबै नेपालीलाई फिर्ता पठाउन जरुरी रहेको बताउनु भएको छ । ‘दुई दिनको बिदामा रेस्टका लागि ल्याएको थियो । हाम्रो टोलीमा ३१ जना नेपाली छौं । सकेसम्म वारमा फसेका सबै नेपालीलाई फिर्ता पठाउन पाए राम्रो हुने थियो,’ रेडजोन जानुअघि छोडेको भ्वाइस नोटमा भन्नुभएको छ, ‘रुसी सेनामा भर्ती भएका जोसुकै एक पटक लड्न जानैपर्छ । जजसले लडाइँलाई फेस गरेका छन, लडाइँ लडेका छन् । उनीहरू एक सेकेन्ड पनि बस्न चाहँदैनन ।’

उनका अनुसार युद्ध लड्न गएका कतिपय घाइतेको हातखुट्टा नै छैन । ‘कसैको तलतिरको ज्यान हुँदैन । कसैको हात छैन त कसैको खुट्टा छैन । ज्यान जानेको सकिगो । धेरै समस्या छन,’ उहाँले भन्नुभयो, ‘पैसाको कुराले गर्दा हामी यहाँ आएर फस्नुपर्यो ।’

गत मंसिर २५ मा मस्कोस्थित नेपाली दूतावासमा उद्धारका लागि आवेदन दिएका अछामका चक्रबहादुर कुँवर र पर्वतका कृष्णबहादुर क्षेत्रीले समयमा उद्धार नहुँदा आफूहरू निकै निराश हुनुपरेको बताउनु भएको छ । कुँवर र क्षेत्रीले आफूहरु बंकर बनाउने काम गरिरहेको जानकारी दिनुभएको छ ।