काठमाडौं, फागुन २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एकसाथ बसेर दलका सांसदहरुलाई ह्वीप लगाउनु भएको छ ।
एमाले बिभाजनपछि पहिलो पटक एमाले अध्यक्ष ओलीसँगै बसेर माधवले एकसाथ ह्वीप लगाउने निर्णयमा सहमति जनाउनु भएको हो । लामो समय नेकपा एमालेको नेतृत्व गरी ओलीको समेत नेता रहनुभएका नेपाल महाधिवेशनमा ओलीसँगै चुनाव लडेपछि पहिलोबाट तेस्रो बरियतामा झर्नुभएको थियो ।
अध्यक्षमा पराजीत भएको तथ्य स्वीकार गर्न नसकी पार्टी नै फोडेर हिडनुभएका नेपाल लामोसमयपछि आज ओलीलाई नेता स्वीकार गरेर उहाँको दायाँतर्फ बस्नुभएको हो । ओलीले आफूलाई पनि प्रधानमन्त्री चाहिन्छ भन्ने मागमा ग्रिन सिग्नल दिएपछि नेपाल उहाँसँगै गमक्क परेर बैठकमा बस्नुभएको हो । राष्ट्रियसभामा अध्यक्षमा नेकपा माओवादीका उम्मेदवार नारायण दाहाललाई जिताउन सत्ता गठबन्धनको आज संयुक्त बैठक बसेको हो ।
गठबन्धनमा एमाले, माओवादी, रास्वपा, नेकपा एस र जसपा सहभागी छन । आफूलाई जानकारी नै नदिइ नयाँ गठबन्धन बनाएर कर्नरमा पारेको भन्दै गठबन्धनमा असन्तुष्टि जनाउँदै आएका माधव नेपालको माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफलपछि उहाँ बैठकमा आउनु भएको हो ।
यद्यपी नेपालको अनुहार भने निचोरिएको कागती जस्तै देखिएको थियो । बैठकमा एमाले अध्यक्ष ओलीले माधवलाई छेवैमा राखेर सत्ता गठबन्धनको प्रमुख नेताको हैसियतमा गठबन्धनका उम्मेदवार दाहाललाई मत दिन ह्विप जारी गर्नुभएको हो ।
राष्ट्रियसभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद रहेका छन भने कांग्रेसकोे १६ र लोसपाका एक सांसद छन ।
प्रतिक्रिया दिनुहोस्