जनता टाइम्स

२९ फाल्गुन २०८०, मंगलवार २२:३२

नागरिक उन्मुक्ति बिभाजनको डिलमा : श्रीमान-श्रीमती नै फाइट टु फिनिसको लडाईंमा उत्रिए


काठमाडौं, फागुन २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई लिएर गत निर्वाचनमा जन्मिएको नागरिक उन्मुक्ति पार्टी बिभाजनको डिलमा पुगेको छ । निर्वाचन आयोगले बैधानिकता दिएको अध्यक्ष रञ्जीता श्रैष्ठ चौधरी र महाधिवेशनबाट अध्यष घाृषणा हुनुभएका रेशमलाल चौधरीबीच नै टक्कर देखिएपछि नाउपा बिभाजनको डिलमा पुगेको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता र रेशम पतिपत्नी हुनुहुन्छ । रेशम जेलमै रहेको बेला पार्टी खोलेर अध्यक्ष बनी चुनाव जित्नुभएकी रञ्जितालाई बाइपास गरेर रेशमले आफुखुसी निर्णय लिन थालेपछि सो पार्टीमा गम्भीर बिवाद देखिएको थियो ।

पति र पत्नीबीचको झगडा परालको आगो भन्दै बसेका नेता कार्यकर्ता पनि अव भने दुईतिर लागेका छन । प्रधानमन्त्री दाहालले बिश्वासको मत लिने बिन्दुमा पुग्दा सो पार्टीबाट दुईथरी धारणा आएको छ । दाहालले बुधवार प्रतिनिधिसभामा बिश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीलाई बिश्वासको मत दिने पक्षमा अहिलेसम्म नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी उभिएको छ । यस्तै नेपाली कांग्रेस, जनमत पार्टीले विश्वासको मत नदिने निर्णय गरेका छन् । नागरिक उन्मुक्ति पार्टीमा भने अहिलेसम्म पनि विश्वासको मत दिने र नदिने भन्ने विषयमा मत बाझिएको छ ।

सोमबार कैलालीको टिकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको दुई तिहाइ बहुमतले नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने, प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । आज ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य तथा वार्ता समिति संयोजक दामोदर पण्डितले एक विज्ञप्ति जारी गर्दै सरकारलाई समर्थन नदिने बताएपछि संसदीय दलको नेतासमेत रहनुभएकी रञ्जीताले बिश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गर्नुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्वीपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिएको व्यहोरा अनुरोध छ ।’

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र अध्यक्ष रन्जिता चौधरीबीच असमझदारी बढ्दै जाँदा त्यसको प्रभाव प्रदेश सरकारदेखि प्रधानमन्त्रीको विश्वासको मतसम्म परेको हो । पति रेशम चौधरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिई कांग्रेस नेतृत्वको पुरानै गठबन्धनको पक्षमा उभिनुभएको छ । पत्नी रन्जिताले भने नयाँ गठबन्धनलाई विश्वासको मत दिने निर्णय भइसकेको भन्दै ह्वीप जारी गर्नुभएको छ।

प्रदेशमा पनि रेशम–रञ्जिताको असमझदारीले सरकार जोगिने कि नजोगिने अन्योलमा परेको छ । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी नहुने अध्यक्ष रञ्जिताको निर्देशन थियो । तर, संरक्षक रेशमले धनगढीमै बसेर सरकार विस्तारको गृहकार्य अघि बढाउनु भयो ।

मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वका सरकारमा सहभागी भएका मन्त्रीहरूले पार्टीसँग कुनै सल्लाह नगरेको र पार्टीको नीति विपरीत सरकारमा सहभागी भएको भन्दै रञ्जिताले तत्काल मन्त्रीबाट फिर्ता हुन र सरकारलाई दिएको समर्थन फिर्ता दिन निर्देशन दिनुभयो । नाउपाको यो बिवादले श्रीमान श्रीमतीकै बीचमा गम्भीर समस्यासमेत ल्याएको छ ।