काठमाडौं, फागुन ३० । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई सम्झाउन नसकेको भन्दै क्षमा माग्नुभएको छ ।
रेशमले सामाजिक सञ्जाल फेसबुकमा आज लामो तर भावुक स्ट्याटस लेख्दै क्षमा माग्नुका साथै रञ्जितासँग दुई घण्टा बार्ता गर्दा पनि टसमस नभएको खुलासा गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिश्वासको मत दिने कि नदिने भन्ने बिषयमा पार्टी नै बिभाजित हुने अवस्थामा पुगेपछि रेशमले आज बिहानै फेसबुकमार्फत आफ्नो धारणा राख्नुभएको हो ।
रेशमले भन्नुभएको छ, ‘ कुरो रह्यो बूढाबूढीको । म उनलाई सम्झाउन कैलालीबाट काठमाडौँ आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन । उनको भनाइ छ ( प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोडनुहुन्न । अरे लाटी, टिकापुर घटनापछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौँ र तिमी पनि मन्त्री भएकी हौ ।’
रेशमको भनाइ जस्ताको त्यस्तै
विषय जित हारको होइन, आज जिते प्रचण्ड, ओली जित्लान । भोलि फेरी देउवा जित्लान । सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ, आफ्नो पार्टी निर्माणमा जुटौँ ।
सन्दर्भ : घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो । आज पनि हेर्नुस, एमाले, माओवादी, कांग्रेस । यी ठुला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन र ? तर एकीकृत समाजबादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुईंचालो गएको छ ? त्यसैले कुरा बुझौँ, कुनैपनि गठबन्धनका पछाडि नलागौँ ।
नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिष्ट होइन, भौगोलिक साँस्कृतिक पहिचानसहितको सङ्घीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो । त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौँ । आफ्नो नीति सिद्धान्त अनुरूप चलौँ ।
कुरो रह्यो बूढाबूढीको । म उनलाई सम्झाउन कैलालीबाट काठमाडौँ आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन । उनको भनाइ छ ( प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोडनुहुन्न अरे लाटी, टिकापुर घटनापछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौँ र तिमी पनि मन्त्री भएकी हौ । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखेल्नेवाला छैनौं । जताबाट पनि भलो ठुलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो ।
मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन, ती हामीलाई हृदयदेखि चाहनेवाला हुन । मलाई भोट हाल, मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउने वाला मात्रै हुन । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ, टन्टै साफ ।
हो, जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ । तर मैले सबैको सदुपयोगका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन । अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ । सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधान भन्दा माथि हुन्छ । सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो तर जनता जनार्दन हुन । यसका बारेमा अदालतले केहिदिनमा अवश्य न्याय देला ।
तर याद रहोस, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र कारबाही भोग्नुपर्छ । सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ । उहिले भन्न सक्दिन, अहिले केन्द्रीय समितिले स्वतन्त्र भई निर्णय गरेको हो । अब हरेक निर्णय यसरी नै स्वतन्त्र भई गर्नुपर्छ ।
मेरा कारण लाखौं जनताको मन दुखेको मलाई अनुभूत भएको छ, त्यसकारण म क्षमा चाहन्छु तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नै पर्छ, दुख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।
प्रतिक्रिया दिनुहोस्