जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार ०९:४६

सुस्मिताको हत्यारालाई उच्च अदालतले सफाइ दिएपछि आन्दोलनमा उत्रियो माइती पक्ष, न्यायाधीश पैसामा बिकेको आरोप


चेतन विष्ट,/कपिलवस्तु । छोरीको हत्याराले सफाइ पाएपछि माइती पक्ष पुनः आन्दोलनमा उत्रिएको छ । २०७७ सालमा हेटौंडामा छोरी सुस्मिता केसीको हत्यामा मुख्य योजनाकार भनिएका दुई जनालाई उच्च अदालतले सफाई दिएपछि कपिलबस्तुमा रहेका माइती पक्ष पुनः आन्दोलनमा उत्रिएको हो ।

लामो संघर्षपछि जिल्ला अदालतले हत्याराहरुलाई कानुनी दायरामा ल्याएको भएपनि उच्च अदालतले मुख्य योजनाकार अरुण कार्की र दुर्गा थापा कार्कीलाई नै छुटाएको भन्दै आन्दोलनमा उत्रिएका हुन । जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले उल्ट्याउँदै मुख्य योजनाकार भनिएका दुई जनालाई सफाई दिएपछि सुस्मिताको परिवार र आफन्तले पुनः उनका हत्यारा र योजनाकारले जन्म कैद सजाय पाउनुपर्ने भन्दै माग गरेका छन ।

छोरीको न्यायको लागि लड्दालड्दै धेरै गलिसकेको मृतककी आमाको भनाई छ । न्यायको लागि संघर्स समिति गठन तथा पत्रकार सम्मेलनमा बोल्दै उहाँले शरिर गलेको भएपनि नथाकेको बताउनु भयो । छोरीका हत्यारालाई जिल्ला अदालतले कानुनी दायरामा ल्याएको भएपनि उच्च अदालत भने आर्थिक प्रलोभनमा परेर छुटाएको हुनसक्ने आमाको आरोप छ । उच्च अदालतको फैसला विरुद्ध आफुहरु अब सर्वोच्च अदालत जाने तयारी गरेको उहाँले बताउनु भयो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले दोषीले सजाय पाउनु पर्ने बताउनुभयो । पछिल्लो समय धेरै युवती तथा महिलाहरु बलत्कार तथा हत्याको शिकार भैरहेको भन्दै त्यस्तो कार्यलाई निरुत्साहित गर्न पनि दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य धुर्व रायमाझी, पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्वासे, नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेल, महिला अधिकारकर्मी दिना सुवेदी लगायतले न्यायका लागि सवैलाई साथदिन अपिल गर्नुभयो ।

सुस्मिता केसीका ठुला बुवा हेम खड्काले छोरीको न्यायका लागि हिजोको दिनमा जस्तै सबैको साथ सहयोग आवश्यक रहेको बताउनु भयो । दिनानु सुस्मिता जस्ता छोरीको विभिन्न कारणले ज्यान गएको हुर्दा यसमा न्यायका लागि सबैले साथ दिन समेत आग्रह गर्नु भयो ।

कार्यक्रमबाट अम्बिका पौडेलको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ । जस्को सहसंयोजकमा इन्दिरा पन्त, सदस्य सचिवमा जमुना सापकोटा तथा सदस्यहरुमा गीता भुषाल, शुसिला गैरे, मीना पौडेल, नारायण पौडेल, खिमानन्द पौडेल, विष्णु पौडेल, विमला श्रेष्ठ र गिता पौडेल रहनुभएको छ । त्यस्तै सल्लाहकार सदस्यहरुमा नारायण भुषाल, खेमराज पौडेल, देवकला सुवेदी, ध्रुव रायमाझी, बालकुमारी पन्त, गणेश क्षेत्री रहनुभएको छ ।

गत २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित घरमा केसीको हत्या गरिएको थियो । घटना भएको भोलिपल्ट मात्र हत्या गरिएको अवस्थामा केसीको शव फेला परेको थियो । केसीको हत्यापछि ससुरा प्रकाश, नन्द सीता, सासुले आत्महत्या देखाउने प्रयास गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो । प्रहरीका अनुसार उक्त घटनामा केसीकी जेठी नन्द दुर्गा र ज्वाइँ अरुणको संलग्नता देखिएको थियो ।

कपिलवस्तुको बाणगंगा माइती भएकी केसीको २०७६ वैशाख १८ गते प्रकाशका छोरा रुपेन्द्र थापासँग विवाह भएको थियो । विवाह गरेको छ महिनामा नै रुपेन्द्रको मृत्यु भएपछि बिमा बापतको रकमका लागि केसीको हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका ४ की २४ वर्षीया सुस्मिता केसीको परिवारबाटै हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको थियो । जिल्ला अदालतले ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो । तर उच्च अदालतले दुई जनालाई नै सफाइ दिएको छ ।