जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार १३:४१

कांग्रेसलाई एमाले अध्यक्ष ओलीले फर्काए कठोर जवाफ


काठमाडौं, फागुन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री आलोपालो प्रधानमन्त्री हुनेबारे गठबन्धनभित्र कुनै सम्झौता नभएको प्रष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिश्वासको मत दिन दिनका लागि गर्नुभएको प्रस्तावमा समर्थन गर्दै अध्यक्ष ओलीले यस्तो जानकारी दिनुभएको हो । उहाँले आफूलाई अव प्रधानमन्त्री बन्ने इच्छासमेत नभएको प्रष्ट पार्नुभयो ।

‘प्रधानमन्त्रीको कार्यकाल बाँडेबाडका चर्चाहरू अखबारमा देखेँ । यस्तो चर्चाले यो सरकार परिवर्तन किन गरेको भन्ने प्रश्नको गरिमा घटाएको छ । यो गलत कुरा हो । बाहिर आएजस्तो १३÷१३ वर्ष, वा १५/१५ वर्षको कसैले गरेको छैन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन बनेको होइन । मलाई इच्छा छैन प्रधानमन्त्री बन्ने । मेरो नाम पनि जोडिएको छ क्यार । प्रधानमन्त्री जोसुकै होस ।’

एमाले अध्यक्ष ओलीले अघिल्लो गठबन्धनको नेतृत्व गर्दा नेपाली कांग्रेसले आफूहरुसँग कुरा गर्नसमेत नचाहेको तथ्य पनि खोल्नुभयो । ‘कांग्रेसलाई बसेर कुरा गरौँ न सही रुपमा भनेर भनेको । वर्णाश्रम व्यवस्थामा भात दाल चल्दैन भनेझैँ एमालेसँग कुरा चल्दैन रे कांग्रेसको । शेरबहादुरजीलाई फेरि पनि भन्न चाहन्छु । बसौँ न कुरा गरौँ न,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसमेत माग्नुभयो । प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन भत्काउनुको कारण सबिस्तार जानकारी गराएको भन्दै उहाँको तर्क अर्थपूर्ण रहेको बताउनु भयो ।

उहाँले प्रतिपक्षी दल कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने बताउनु भयो । ’प्रधानमन्त्रीले नयाँ समीकरण बनाउनुपर्नका कारणबारे भनेका कुराहरू चित्तबुझ्दा छन । पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेसले भोट नै नमागिकन, हतारिएर, हौसिएर समर्थन गरेको थियो । अहिले चाहि किन समर्थन नगर्ने ?,’ ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने अहिले चाहिँ किन नहुने भन्दै प्रश्न पनि सोध्नुभयो । ‘प्रधानमन्त्रीले नेपाली कांग्रेससँगै अन्य दलहरूसँग भोट माग्नु भएको छ । नेपाली कांग्रेसले अगाडि अगाडि लागेर भोट दिए हुन्छ,’ ओलीको भनाई थियो ।