डडेलधुरा, चैत १ । डडेल्धुराको परशुराम नगरपालिकाका उपमेयर र दुई जना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
नगर कार्यपालिकाको बैठकमै निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उपप्रमुख र वडाध्यक्षहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
कार्यपालिका बैठकमा आज निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको थियो । उहाँको टाउकोमा ती टाँचा लगाइएको छ । सोही घटनामा ठाडो निवेदन परेपछि नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर धामी र वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक कार्कीले जानकारी तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको बताउनु भयो । पक्राउ परेका उपमेयरदेखि वडाध्यक्षसम्म तीनै जना सत्तारुढ नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।
उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले आज साँझ मात्रै ७७ वटै जिल्लाका सिडिओ र प्रहरी प्रमुखसहित सुरक्षा समितिका अधिकारीलाई कानूनले दिएको अधिकार कडाईका साथ प्रयोग गर्न र कसैको निर्देशन नकुर्न कडा निर्देशन दिनुभएको थियो ।
कानूनअनुसार गृह संयन्त्रका पदाधिकारी नचलेकै कारण नागरिकमा बितृष्णा बढेको भन्दै अव कानूनअनुसारको काम नगरे कार्वाही गर्ने चेतावनी गृहमन्त्री लामिछानेले दिएपछि डडेलधुरा प्रशासनले माओवादीबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको हो ।
प्रतिक्रिया दिनुहोस्