काठमाडौं, चैत २ । सत्तारुढ गठबन्धनका ५ दलले गठन गरेको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको छ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल नेतृत्वको कार्यदलको आज बसेको बैठकले मस्यौदालाई अन्तिम रुप दिएको हो ।
सत्तारुढ ५ दलले पौडेलको नेतृत्वमा १० सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलको आजको बैठकले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा तयार पारेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदलले तयार पारेको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आज नै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको छ ।
संयोजक पौडेलका अनुसार न्यूनतम कार्यक्रको मस्यौदामा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम नागरिकमा आशाको सञ्चार र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
यस्तै राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध नेपाल : सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय मस्यौदामा समेटिएको छ । कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिएपनि शीर्ष नेताहरुले आवश्यक परे संशोधन गर्नेछ ।
कार्यदललाई सरकारमा सहभागी पाँच राजनीतिक दलको तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार पार्ने जिम्मेवारी थियो । ‘कार्यक्रम बनाउन निरन्तर छलफलमा थियौँ । न्यूनतम साझा कार्यक्रम तयार भएको छ । आज नै कार्यदलले प्रमुख नेताहरूलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गर्छौं,’ पौडेलले भन्नुभयो । उहाँले साझा कार्यक्रममा सुशासनलाई बिशेष प्राथमिकतामा राखिएको जानकारी पनि दिनुभयो ।
पौडेलको नेतृत्वमा बनेको सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलमा एमाले उपमहासचिव विष्णु रिमाल, नेकपा माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल तथा जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य रहनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको बर्तमान सरकार यही न्यूनतम साझा कार्यक्रमको आधारमा सरकार सञ्चालन हुनेछ ।













प्रतिक्रिया दिनुहोस्