नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको सुन तस्करसँग बलियो कनेक्शन रहेको तथ्य फेला परेको छ । महराले तस्करीका लागि गाडी उपलब्ध गराउनेदेखि विभिन्न ग्यादरिङमा समेत सामेल भएको प्रमाण भेटिएको हो ।
काठमाडौं, चैत ३ । बिमानस्थलबाट सुन तस्करी गर्ने गिरोहसँग नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बलियो कनेक्सन रहेको देखिएको छ । सुन तस्करी जाँजबुझ आयोगको प्रतिवेदनमा जनाइए अनुसार सुन तस्करहरूसँग महराको पटक–पटक सम्पर्क भएको, लजिस्टिक सपोर्टदेखि विभिन्न ग्यादरिङमा समेत सामेल भएको पाइएको हो ।
समितिका एक सदस्यले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार सुन तस्करीका नाइके दावा छिरिङलाई लजिस्टिक सपोर्ट गर्न जीवन गुरुङलाई महराले नै दबाब दिएको पाइएको छ । सुन तस्करीसम्बन्धी छानबिन गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको हो ।
सो प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषदले गरिसकेको छ । प्रतिवेदनमा जनाइएका अुनसार तस्करहरूलाई तस्करी गर्नका लागि महराले आफ्नो डस्टर गाडी नै तस्करहरूलाई प्रयोग गर्न दिनुभएको तथ्यले देखाएको छ । महराको कल डिटेल रिपोर्ट (सीडीआर) बाट समेत तस्करहरूसँग लगातार सम्पर्क रहेको देखाएको छ ।
महरा र तस्करहरुबीच परस्पर लिंक देखिएको, डिजिटल फरेन्सिक ल्याब परीक्षण (डीएफएल)बाट पनि केही प्रमाणहरू फेला परेको प्रतिवेदनमा उल्लेख छ । आयोगका अनुसार त्यसबाहेक तस्करहरूलाई महराले लजिस्टिक सपोर्टसमेत गरेको तथ्य भेटिएको छ । ती सदस्यले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार महराले दावासँग पैसा लिएर जीवन गुरुङको नाममा डस्टर गाडी दर्ता गरी उपलब्ध गराउनु भएको पाइएको हो । प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन पक्राउ परिसकेका छन ।
प्रतिवेदनमा जनाइए अनुसार महराले धेरै पटक दावा सँगसँगै सीतापाइलाको घरमा, बाहिर होटल, रेस्टुरेन्टमा तस्करको समूहसँग बसेर खानपिनसमेत गरेका पाइएको छ । सो काममा महराले आफ्नो मोबाइलबाट भन्दा पनि छोरा निर्मल महराको मोबाइलबाट तस्करहरूसँग पटक पटक सम्पर्क गरेको पाइएको छ ।
गत मङ्सिरमा फ्लाइ दुबईबाट आएका चन्द्र घलेको साथबाट बरामद भएको १४ किलो सुन प्रकरणमा अनुसन्धानपछि गुरुङको संलग्नता देखिएको थियो । सुन तस्करीमा संलग्न यो गिरोहले तस्करी गर्ने सुन विमानस्थलको अध्यागमन क्षेत्रको शौचालयमा लुकाएर कर्मचारीको संलग्नतामा बाहिर ल्याउने गरेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ ।
सो तस्करी प्रकरणमा चन्द्र घले र घलेले नाम लिएका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिसकेको छ । काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दा अझै पनि विचाराधीन छ ।













प्रतिक्रिया दिनुहोस्