जनता टाइम्स

४ चैत्र २०८०, आईतवार १०:५८

कांग्रेसले पटक-पटक दिएको धोका दियो, सँगै जान नसकिने अवस्था आएपछि नयाँ समीकरण बनायौं : प्रधानमन्त्री


कांग्रेसबाट पटक पटक धोका भयो । हामीलाई भोट ‘ट्रान्सफर’ हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो, एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं

पोखरा, चैत ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले पटक पटक दिएको धोका तथा सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको प्रष्ट पार्नुभएको छ ।

आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो । ‘कांग्रेसबाट पटक पटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ‘ट्रान्सफर’ हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं ।’

प्रधानमन्त्री दाहालले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने जानकारी पनि दिनुभयो । ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ । पूर्वदेखि पश्चिमसम्मको तराई–मधेशलाई समेटेर एउटा अभियान चल्नेछ । हिमाल, पहाड र तराई–मधेशलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ,’ प्रधानमन्त्रीको भनाई थियो ।
उहाँले गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको जानकारी पनि दिनुभयो । ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ । हामीले नै नेतृत्व लिने संभावना छ । प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ । त्यो टुङ्ग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौं,’ प्रधानमन्त्री दाहालको भनाई थियो ।

केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण तथा वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताउनु भयो । ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशको राजनीति सही बाटोमा आएको छ,’ प्रधानमन्त्री दाहालको भनाई थियो ।